आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । २०१३ साल चैत्र २० गतेलाई औपचारिक रुपमा नेपालमा सहकारी सुरु भएको भन्दै हरेक बर्ष यहि दिनलाई राष्ट्रिय सहकारी दिवस रुपमा मनाउन सुरु गरिएको हो । सहकारी दिवसको अवसरमा देशभर र्याली,रक्तदान तथा सहकारीको समस्याको विषयमा छलफल तथा अन्तरक्रिया भई राखेको छ ।
समुदाय र सदस्यहरुमा सहकारीको महत्व बुझाउनको लागि विभिन्न ठाउँमा र्यालीको आयोजना गरिएको छ । र्यालीमा सहकारीको महत्व झल्काउने प्ले कार्ड र व्यानर लिएर प्रभातफेरी कार्यक्रम आायेजना गरिएको थियो । सहकारी विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ३० हजार सहकारी दर्ता रहेका छन् भने ७३ लाख जनता सहकारीमा आवद्ध भएका छन् । सहकारीले ८ खर्ब माथीको बचत परिचालन गर्दै आएको विभागले जनाएको छ ।

सहकारी मार्फत मुलुकमा रहेका जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका साथै गरिबी निवारणमा समेत उल्लेख काम भएको छ । पछिलो समय विश्वमा आएको आर्थिक मन्दी र संस्थाहरुमा सुशासनको अभावले सहकारी क्षेत्रमा समस्या आएको छ ।
सहकारीले समाजमा पछि परेका मानिसहरुलाई एकीकृत गरी उनीहरुमा बचत गर्ने बानीको विकास गर्नुका साथै आय आर्जनमा समेत लगाएर जीवनस्तर बदल्न ठुलो टेवा पर्याएको छ । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसको नारा सहकारीमा सुशासनः प्रविधि र एकीकरण दिएको छ ।

नेपालपत्र संवाददाता