मध्यपुर थिमि नगरपालिकाले कार्यक्षेत्रभित्र संचालित सबै सहकारी संस्थाहरुको सम्पूर्ण ऋणी सदस्यहरुलाई संस्थाबाट लिएको ऋण तिर्न अपील गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै पालिकाले सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको जनाएको छ । ऋणीले आफुले प्राप्त गरेको ऋणको सावाँ व्याज तोकिएको भाका र किस्ता बमोजिम संस्थामा नियमित भुक्तानी गरिदिन पालिकाले अनुरोध गरेको छ ।
पालिकाकाे उद्याेग, सहकारी तथा राेजगार प्रवर्धन शाखाबाट प्रेषित सूचनामा भनिएको छ – ‘अन्यथा मध्यपुर थिमि नगरपालिका सहकारी ऐन २०७९ को दफा ६२ र ६५ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा व्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरिदिनु सम्पूर्ण ऋणी सदस्यहरुमा अनुरोधका साथ यो सूचना जारी गरिएको छ।’
नेपालपत्र संवाददाता