सोमबार, कार्तिक १० गते २०८३

विभागले सहकारीको तथ्याङ्क अद्यावधिक गर्ने, यथार्थ विवरण पठाउन आग्रह


चैत्र ७, २०८० बुधबार
विभागले सहकारीको तथ्याङ्क अद्यावधिक गर्ने, यथार्थ विवरण पठाउन आग्रह

सहकारी विभागले मुलुकभर  रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतका निकायलाई उपलब्ध गराउन विभागले सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो । 

विभागले आज मुलुकभरिका सबै स्थानीय तहलाई परिपत्र गरेर एक महिना भित्र विभागको ईमेल ठेगाना   मा प्रदेश नियमन क्षेत्रभित्र पर्ने सहकारीको विवरण पठाउन भनेको छ । विभागले कुल सहकारी संस्था, कुल सदस्य संख्या, महिला सदस्य, पुरुष सदस्य, कुल शेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी र प्रत्यक्ष रोजगारीको संख्या सहितको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरेको छ ।

यस अघि संघीय सहकारी विभागले २०७७ पुस २० गते प्रदेश र स्थानीय तहबाट प्राप्त भएको तथ्याङ्कको आधारमा सहकारी झलक, २०७७ प्रकाशन गरेको थियो । विभागले लामो समय सम्म सहकारीको विस्तृत तथ्याङ्क अद्यावधिक गर्न नसक्दा राज्यलाई सहकारी क्षेत्रको बारेमा प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न र बजेट विनियोजन गर्न समस्या पर्ने गरेको छ । मुलुकभर सहकारी संस्थाको  संख्या ३१ हजार भने पनि कति संस्था सक्रिय छन् भने तथ्याङ्क  विभागसँग छैन । पछिल्लो समय स्थानीय तह र प्रदेश सरकार मातहत सहकारी हस्तान्तरण  भए पछि सहकारीको यकिन तथ्याङ्क निकाल्न झनै समस्या परेको हाे ।