सोमबार, कार्तिक १० गते २०८३

लेखा सुपरीवेक्षण समिति सक्रिय भए सहकारीहरूमा समस्या कम हुने

फाल्गुण २९, २०८० मंगलबार
लेखा सुपरीवेक्षण समिति सक्रिय भए सहकारीहरूमा समस्या कम हुने


भक्तपुरमा  दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिम कार्यक्रममा संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले देखापरेको धारण राखे । संस्थाहरुमा लेखा सुपरिवेक्षण समिति आफ्नो भुमिकाबाट बिमुख हुँदा समयमै सहकारीको आन्तरिक समस्या समाधान हुन नसकेका कारणसहकारीमा समस्या बल्झेको बताए ।

सहकारी क्षेत्र विषम परिस्थितिमा रहेको बेला लेखा सुपरिवेक्षण समितिहरुलाई सबल र सक्षम बनाउन आवश्यक रहेको देखिएकोले संघले आन्तरिक लेखापरिक्षण तालिमको आयोजना गरेको उनले बताए । सहकारी संस्थाहरुले सहकारी ऐन, कानुन, विधि र सुशासनमा संचालन गरेमा समस्या नआउने ठहर गर्दै उनले लेखासुपरिवेक्षण समितिले आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गरी समयमै संचालक, व्यवस्थापन र सदस्यलाई सचेत गराउनुपर्ने जनाए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या सहकारीका संचालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यलाई सहकारी शिक्षाको अभावबाट सिर्जित भएको बताए । सहकारीका समिति, उपसमिति, व्यवस्थापन र सदस्यलाई निरन्तर सहकारी शिक्षा तथा तालिम प्रदान गरी आ—आफ्नो भुमिका निभाउन प्रोत्साहन गर्नुपर्ने उनले जनाए । 

बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरासाइनेले तालिम कार्यक्रमको सहजिकरण गर्दै सहकारीमा लेखासुपरिवेक्षण समितिको भुमिका धेरै हुने भएकोले निरन्तर तालिम लिई अद्यावधिक हुनुपर्ने विचार राखे । वहाँले आन्तरिक लेखापरिक्षणका परिचय, अवधारण, ज्ञान, सीप, क्षेत्र, चरण, प्रतिवेदन, कानुनी व्यवस्था आदि लगायतका विषयमा सहजिकरण गरेका थिए । 

तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट लेखा सुपरिवेक्षण समितिका भुमिका बोध भएको र यस्ता तालिमहरु निरन्तर संघले आयोजना गर्ने आशा राखे । तालिममा संघ आबद्ध सदस्य संस्थाहरु मध्येबाट २८ जना लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

internal audit talim.JPG