शनिबार, आश्विन १७ गते २०८३

बैंकिङ निक्षेप ७ प्रतिशतले बढ्दा कर्जा ४.१ प्रतिशले बढ्यो

फाल्गुण २७, २०८० आइतबार
बैंकिङ निक्षेप ७ प्रतिशतले बढ्दा कर्जा ४.१ प्रतिशले बढ्यो


चालु आर्थिक वर्ष २०८०/०८१ काे ७ महिना अवधिमा  बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो। त्यसैगरी वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेकाे मुलुकको आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्मकाे आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो ।

त्यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ।

 २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश: १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो । 

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ३९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ ।

२०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो ।