शनिबार, कार्तिक १ गते २०८३

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब दिनमा ५० पटकसम्म


आश्विन ३०, २०८३ शुक्रबार
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब दिनमा ५० पटकसम्म

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वको समयमा डिजिटल वालेटमा रकम जम्मा गर्ने कारोबारको संख्या अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्थालाई चाडपर्व लक्षित गरी बढाएको हो।

राष्ट्र बैंकका अनुसार बडादशैंको अवसरमा असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। त्यसैगरी दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म पनि वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

चाडपर्वका समयमा डिजिटल भुक्तानीको कारोबार बढ्ने भएकाले सेवाग्राहीको सहजताका लागि यस्तो अस्थायी व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले उक्त अवधिमा भएको कारोबारको संख्या र कुल रकमबारे राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।