काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज (असोज २९) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ७ वर्ष अवधिको ६ प्रतिशत ब्याजदरको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो।
प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ता निष्कासन गरिएकोमा ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा कात्तिक १० र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ। आवेदन मेरोसेयर तथा सी–आस्बा प्रणालीमार्फत दिन सकिनेछ।
ऋणपत्रको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ दिएको छ। ऋणपत्रको ब्याज प्रत्येक अर्धवार्षिक अवधिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।
नेपालपत्र संवाददाता