सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्यायले गलत गर्ने संस्थालाई विभागले कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् । बागमती प्रोस्कूनले आयोजना गरेको दुई दिवसीय ‘बागमती साकोस समिट ’मा बोल्दै उनले असल गर्ने संस्थाहरुलाई प्रवद्र्धन र गलत गर्ने संस्थालाई कारवाही गर्ने बताए ।
सहकारी अभियानलाई राम्रो बनाउन सबै पक्ष मिलेर अगाडी जानुको विकल्प नभएको उनको भनाई छ । सहकारी क्षेत्रका लागि आवश्यक ऐन नियम प्रयाप्त रहेको र त्यसको कार्यान्वयनमा सबै पक्षले भूमिका खेल्नु पर्नेमा उनको जोड छ । संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र समाजवाद निमार्णको आधार नै सहकारी भएको उनले जनाए । सहकारी मुलुकका लागि आवश्यक रहेको र सहकारी मार्फत नै सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सकिने उपाध्यायको भनाई छ ।
सहकारीको फराकिलो नेटवर्कलाई सही तरिकाले प्रयोग गर्न सके समाज रुपान्तरण सम्भव भएको उनले बताए । राज्यले सहकारीसँग साझेदारी मार्फत आफ्नो भूमिका बढाउन चाहेको र त्यसका लागि अभियानले विश्वास दिलाउन सक्नुपर्ने उनको भनाई छ ।
नेपालपत्र संवाददाता