सोमबार, कार्तिक १० गते २०८३

समस्याग्रस्त कान्तिपुर सेभिङ र कृषि विकास बहुउद्देश्यीयको सम्पूर्ण कामकारवाही अब व्यवस्थापन समिति मातहत


फाल्गुण १६, २०८० बुधबार
समस्याग्रस्त कान्तिपुर सेभिङ र कृषि विकास बहुउद्देश्यीयको सम्पूर्ण कामकारवाही अब व्यवस्थापन समिति मातहत

समस्याग्रस्त घोषित भएका कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको सम्पूर्ण कामकारवाही समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय मातहत मात्र हुने समितिले जनाएको छ । 

समितिले संस्थाका सदस्य, ऋणी, सञ्चालकलाई लक्षित गरी ६ बुँदे निर्देशन जारी गर्दै ती संस्थाका सञ्चालक वा कर्मचारीले कुनै पनि कारोबार नगर्न नगराउन भनेको हो । 

सहकारीका सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्न नगराउन सूचित गरेको छ । त्यसैगरी सबै सञ्चालक र कर्मचारीले  समिति समक्ष उपस्थित भइ आवश्यक सहयोग गर्न भनिएको छ ।

ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न तथा साविक सञ्चालक/कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोबार नगर्न, बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समितिसमक्ष निवेदन पेश गर्न भनेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न अनुरोध गरेको छ। सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत: निलम्बन हुने व्यवस्था रहेको छ। 

कार्यालयका अनुसार सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न मितिको निर्णयबाट समस्याग्रस्त घोषणा भएका सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न यस समितिसमक्ष लेखि आएकोमा सोहि ऐनको दफा १११ काे १ बमोजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत: निलम्बन हुने जनाएको छ ।

NOtice 200.JPG