सोमबार, कार्तिक १० गते २०८३

“सहकारी अभियानमा व्यक्ति सफल तर संस्थाहरु असफल किन भइरहेका छन् ?” उप–रजिष्ट्रार उपाध्याय


फाल्गुण १६, २०८० बुधबार
“सहकारी अभियानमा व्यक्ति सफल तर संस्थाहरु असफल किन भइरहेका छन् ?” उप–रजिष्ट्रार उपाध्याय

संघीय सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् । 

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सहकारीको समस्या समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका हुन् । सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा उनको छ । 

सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेमा उनले जोड दिए । सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ । 

‘सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यर्थात विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ,’ उनले भने, ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ, वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढ्नेछ र राज्यले समेत यसको महत्व थाहा पाउँछ ।’