सोमबार, कार्तिक १० गते २०८३

‘बागमती साकोस समिट’को तयारी पूरा, रजिष्ट्रेशन उत्साहजनक


फाल्गुण १५, २०८० मंगलबार
‘बागमती साकोस समिट’को तयारी पूरा, रजिष्ट्रेशन उत्साहजनक

 

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन) ले ‘बागमती साकोस समिट’को तयारी पूरा गरेको छ । भोलिबाट दुई दिनसम्म चल्ने उक्त समिटका लागि सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । 

समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहकारीका प्रतिनिधिहरु सहभागी रहने उनको भनाई छ । समिटमा २७५ जनाको सहभागिता रहने भएको छ । साकोस समिटमा सहभागिताका लागि रजिष्ट्रेशन उत्साहजनक रहेको अध्यक्ष सापकोटाले बताए । 
पछिल्लो समयमा धेरै संस्थाको तर्फबाट सहभागिताका लागि माग गरिएको भएपनि व्यवस्थापनको कारणले सबैलाई समेट्न नसकिएको उनले प्रष्ट पारे । 

समिटको उद्घाटन बागमती प्रदेश पर्यटन, सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नेछन् । समिटको पहिलो दिन १६ गते बुधबार ‘सहकारी सुदृढिकरणको आधार : सहकार्य, एकता र विश्वास’ शीर्षकमा प्रोस्कुनका सीइओ केशव प्रसाद दहालले, ‘कानुन कार्यन्वयन र अभियान शुद्धिकरणका लागि : सहकारी एकीकरण र वर्गिकरण’ विषयमा पूर्व सचिव गोपीनाथ मैनालीले, ‘सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण : भावी जोखिम र कार्यन्वयन रणनीति’ शीर्षकमा मुक्तिनाथ सापकोटा, ‘सहकारीमा सदस्य सुरक्षा : जोखिम स्थानान्तरणका लागि बीमा’ विषयमा पोषकराज पौडेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी दोश्रो दिन १७ गते बिहीबार ‘ दक्ष जनशक्ति पलायन : सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपाय’ विषयमा प्राडा अरहन स्थापित, ‘सहकारीको वर्तमान आवश्यकता : साझा अभियानका लागि साझा सञ्जाल’ शीर्षकमा नेफ्स्कुनका सीइओ शिवजी सापकोटा, ‘ प्रभावकारी सेवाका लागि : जनशक्ति उत्पेरणा’ शीर्षकमा डा. तारा गिरी र ‘सहकारी सुशासन प्रर्वद्धनमा : प्रविधिमैत्री कारोबार’ शीर्षकमा सिनर्जी टेकका सीइओ देवेन्द्र खड्काले कार्यपत्र पेश गर्नेछन् । 

बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ साकोस समिटको सह–आयोजकको रुपमा रहेका छन् भने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो।