अर्थमन्त्री डा. प्रकाश शरण महतले लघु वित्त र सहकारीका बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइने बताएका छन् । संसदमा सुरु भएको विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महतले सो कुरा बताएका हुन् ।
उनले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिने बताए । बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइने उनले जनाए । औद्योगिक उत्पादन र वित्तीय क्षेत्र अन्तर्गत सहकारी तथा लघु वित्तीय संस्थामा समस्या देखिएको महतको भनाई छ ।
सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइने उनको भनाई छ । सहकारीमा प्रभावकारी अनुगमनको अभावले पछिल्लो समय सदस्यहरुको बचतको असुरक्षा बढेर गएको छ । सहकारीमा गरेको बचत पिर्ता नपाए पछि कतिपय सदस्यहरुले सडक आन्दोलन समेत गरिराखेका छन् भने सहकारी माथीको नै विश्वसनियताको प्रश्न समेत उठको छ ।
नेपालपत्र संवाददाता