सोमबार, कार्तिक १० गते २०८३

कानुनको अवहेलना गर्दै नेफस्कूनकी सञ्चालक शाही जिल्ला संघको उपाध्यक्षमा निर्वाचित

फाल्गुण १३, २०८० आइतबार
कानुनको अवहेलना गर्दै नेफस्कूनकी सञ्चालक शाही जिल्ला संघको उपाध्यक्षमा निर्वाचित


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) सञ्चालकले  कानुनको अवहेलना गरेको पाइएको छ । सुदुरपश्चिम प्रदेशबाट नेफस्कूनको सञ्चालकमा निर्वाचित भएकी दिप्ती शाहीले सहकारी विभागको निर्देशनलाई अवहेलना गरेकी हुन् । विभागले गत मंसिर १० गते नेफ्स्कून लाई पत्र नै लेखेर सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको थियो ।

विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । तर नेफस्कून सञ्चालकमा निर्वाचित शाहीले उक्त निर्देशनको अवज्ञा गर्दै जिल्ला सहकारी संघ कैलालीको उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । फागुन १२ गते शनिबार सम्पन्न संघको २४औं चुनावी साधारण सभाबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । निर्वाचन प्रक्रियाबाट नै शाही संघको उपाध्यक्षमा विजयी भएकी हुन् । उनले १९० मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धि भुप्रेन्द्र थापा क्षेत्रीले १३१ मत प्राप्त गरेका छन् ।

नेफस्कून सञ्चालक शाहीले ऐन भएको व्यवस्थाका बारेमा जानकार भएको स्वीकार गरिन् । विभागले जारी गरेको निर्देशनको बारेमा आफुलाई जानकारी भए पनि कैलालीको सहकारी अभियानलाई राम्रो बनाउन जिल्ला संघको उपाध्यक्षमा गएको उनले बताइन् । सुदुरपश्चिमको सहकारी अभियानलाई बलियो बनाउन र अहिलेको विषम परिस्थितिमा यस क्षेत्रको सहकारी संस्थामा समस्या आउन नदिन आफु संघको उपाध्यक्ष भएको उनले जनाइन् । जिल्ला को नेतृत्वमा आउन र सहकारी अभियानलाइै  सशक्त बनाउन नेफस्कूनको केन्द्रीय सञ्चालक भए पनि आफनो कार्यथलोको अभियान राम्रो बनाउन आफु संघमा गएको उनले प्रतिक्रिया दिईन् । पदको लोभले भन्दा पनि त्यस क्षेत्रको आवश्यकतालाई हेरेर संघको उपाध्यक्ष भएको उनको भनाई छ ।  

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वत: नरहने व्यहोरा नेफ्स्कुनलाई लेखेको पत्रमा छ । तर सो पत्रको मर्म विपरीत अरुलाई नीति, विधि र प्रविधिको कुरा सिकाउने नेफस्कूनका सञ्चालकले नै विभागको निर्देशनलाई पालना नगरेपछि अरु संघ संस्थाले के पाठ सिक्लान् ।

नेफस्कून मुलुकभर रहेका १३ हजार भन्दा बढी  बचत तथा ऋण सहकारी संस्थाको अभिभावक हो। अभिभावक संघका सञ्चालकले नै सहकारी ऐन नियम र विभागको परिपत्रको अवज्ञा गर्छन् भने अरु संस्थाहरुले कतिको पालना गरेका होलान्, यो गम्भिर प्रश्न उब्जिएको छ । सहकारीलाई पारदर्शिता  र सुशासनमा चलाउनुपर्छ भन्ने तर आफु भने राज्यको नीति निर्देशनको अवज्ञा गर्दै अगाडि बढ्ने प्रवृत्ति रहेसम्म सहकारी अभियानमा सुधारका कुरा गर्नु व्यर्थ हुने देखिन्छ।