सोमबार, कार्तिक १० गते २०८३

जोखिम पहिचान गरी व्यवस्थापन गर्न सके अवसर सृजना हुन्छः सिईओ गुरागाईं


फाल्गुण ५, २०८० शनिबार
जोखिम पहिचान गरी व्यवस्थापन गर्न सके अवसर सृजना हुन्छः सिईओ गुरागाईं


राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीलाई सन्तुलनमा सञ्चालन गरे जोखिम नआउने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको साकोस अध्यक्षहरुको गोष्ठीमा‘ वित्तीय सहकारीको जोखिम व्यवस्थापनः जोखिमको पहिचान, विश्लेषण र मूल्याङकन पद्धति’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

संस्था सञ्चालन गर्दा सन्तुलन कायम गर्नुपर्ने र त्यसका लागि बचत र शेयरको रेसियो मिलाउनु पर्ने उनले बताए । सहकारी समुदायको बैंक भएकाले समस्या नै आउनु नपर्ने उनको भनाई छ । सहकारी सिद्धान्त अनुसार सञ्चालन भई सदस्यको बचत उनीहरुमा माझ परिचालन गरे संस्थामा समस्या नै नआउने उनको भनाई छ । जोखिम पहिचान गरी त्यसको व्यवस्थापन गर्न सके अवसर पनि सृजना हुने उनले जनाए । जोखिम व्यवस्थापन गर्न सके संस्थाको वित्तीय स्थिरता कायम हुने, नियमको पालना हुने,प्रतिष्ठा बढ्ने, सदस्य सुरक्षित हुने र प्रतिस्पर्धात्मक लाभ दिन सक्ने सिईओ गुरगाईको भनाई छ । ऋण लगानी गर्दा जोखिम देखियो भने त्यसको न्युनिकरणका लागि  रिक्स मिटिगेशन प्लान भने आवश्यक हुने उनले जानकारी दिए । जोखिम देख्दादेख्दै पनि कतिपय अवस्थामा चुप लागेर बस्दा अहिलेको अवस्था सहकारीमा आएको छ । ‘अहिलको समस्या ऋण असुली भएकाले ऋण लगानी पूर्व पोलिसीमा सहजता, कर्मचारीको कर्जा विश्लेषण क्षमतामा अभाव, सदुपयोगिता र रिकोभरी म्यानेजमेन्ट नै मुख्य रहेको छ, उनले भने ‘बचतको समयसिमा हेरेर मात्र ऋण लगानीको समय निर्धारण गर्नुपर्छ। ’

’बजारमा ब्याजले जोखिम ल्याउने र बचतमा बढी अनि ऋणमा कम ब्याज लिदाँ पनि जोखिम हुने उनले बताए । संस्थाले ४/५ प्रतिशत मुद्धती निक्षेप राख्न सके तरलता समस्या हुदाँ व्यवस्थापन गर्न सहज हुने भनाई सिईओ गुरागाईको छ । अनिवार्य र नियमित बचतलाई प्राथमिकता दिने र ऋण लगानी लामो समयको लागि नभई ५/६ बर्षको लागि गर्दा संस्थामा समस्या नपर्ने उनले सुनाए । संस्थागत पुँजीको  १० प्रतिशत भन्दा बढी ऋण एउटै व्यक्तिमा  लगानी गर्दा समस्या आउने भएकाले स सानो ऋणलाई प्राथमिकता दिन उनले सुझाए । जोखिमलाई न्युनिकरण गर्न बचत तथा कर्जा सुरक्षण कोष अनिवार्य भएको उनले बताए । ठुलो कर्जालाई न्युनिकरण गर्दै कर्जा सदुपयोगमा ध्यान दिन सके जोखिम न्युनिकरण हुने उनको दावी छ । जोखिम कम गर्न लोन लष्ट प्रोभिजन,सम्पत्ति र दायित्वको परिक्षण र संस्थागत पुँजी वृद्धिमा ध्यान दिनुपर्ने उनले जनाए ।