सोमबार, कार्तिक १० गते २०८३

पछिल्लो समय सिआइबीमा सहकारीकाे उजुरी बढेको छः प्रहरी नायव उपरीक्षक महरा


फाल्गुण ५, २०८० शनिबार
पछिल्लो समय सिआइबीमा सहकारीकाे उजुरी बढेको छः प्रहरी नायव उपरीक्षक महरा


केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) का प्रहरी नायव उपरीक्षक मदनजीत महराले मोफसलमा भन्दा पनि शहरी क्षेत्रमा रहेका सहकारी संस्था समस्याग्रस्त बन्दै गएको बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस अध्यक्षहरुको गोष्ठीमा ‘सहकारी क्षेत्रमा कानुन पालनाको विद्यमान अवस्थाः कानुन पालनामा नेतृत्वको जवाफदेहीता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले न्युरोडक्षेत्रका मात्र ८ सय सहकारी बन्द भएको उल्लेख गरे। ठुलो रकमलाई भन्दा पनि सानो रकम फिर्तालाई प्राथमिकता दिन उनले आग्रह गरे।

सहकारीको नियमनलाई केन्द्रीकृत गरिदिएको भए सहकारीमा यतिको समस्या नआउने उनले जनाए । कतिपय संस्थाले सामाजिक सञ्जाल मार्फत बचत फिर्ता गर्ने बताए पनि सहकारीका सञ्चालक फरार रहेको उनले सुनाए । नियमनकारी निकायबाट प्रभावकारी नियमन नहुँदा सहकारीमा समस्या आएको उनको भनाई छ । एउटै परिवारका सदस्य संस्थाको सञ्चालक हुँदा र मिलेमतोमा ऋण लगानी गर्दा पनि सहकारीमा समस्या बढेर गएको उनले जानकारी दिए । ‘कतिपय संस्थाले ऋणी सदस्यले ऋण चुक्ता गर्दा पनि धितो लिलाम गरेको गुनासो सिआईवीमा आउने गरेको छ उनले थपे, कतिपय संस्थाले व्यक्तिगत कम्पनी खोलेर सदस्यको बचत दुरुपयोग गरेको पाइयो । सञ्चालकले आफुलाई मालिक र सदस्यलाई ग्राहकको व्यवहार गर्दा पनि समस्या आएको छ ।’

सहकारीको सफट्वेयर तोडमोड गरी ऋणीले तिरेको रकमलाई इन्ट्री नगरी व्यक्तिले दुरुपयोग गरेको समेत अनुसन्धानको क्रममा भेटिएको महाराले बताए । ब्याजको प्रलोभन देखाएर गैर सदस्यबाट समेत बचत लिएको उनले जनाए । संस्थाहरुले श्वेतपत्र जारी गरी यति समयभित्र सदस्यको बचत फिर्ता गर्छौं भनेर विश्वास दिलाउन सके अहिलेको धेरै समस्या समाधान हुने उनको बुझाई छ। आर्थिक बर्ष २०७७/७८ सम्म सहकारीको उजुरी खासै नआएको उनले जानकारी दिए । आर्थिक बर्ष २०८८/७९ मा सहकारीको गुनासो बढेर गएको र सिआईवीमा ४३ वटा उजुरी परेको र त्यस मध्ये ४१ वटा संस्थालाई मुद्धा चलाइएको थियो । गत आर्थिक बर्ष २०७९/८० मा देश भरका १०३ वटा सहकारी संस्थाको उजुरी परेको र त्यस मध्ये ८२ वटा संस्थालाई मुद्धा चलाई ५८४ जनालाई कारवाही गरेको सिआईबीले जनाएको छ ।