सोमबार, कार्तिक १० गते २०८३

सहकारी पीडितहरू उपत्यकाकेन्द्रित आन्दोलनमा, काठमाडौं ठप्प पार्ने

फाल्गुण ४, २०८० शुक्रबार
सहकारी पीडितहरू उपत्यकाकेन्द्रित आन्दोलनमा, काठमाडौं ठप्प पार्ने

सहकारी पीडितहरूले उपत्यकाकेन्द्रित आन्दोलन गर्ने भएका छन् । सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयास समेत नभएकाे भन्दै पुनः संघर्षमा उत्रिने जनाएका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको हाे । रिपोर्टर्स क्लबमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आगामी फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट  काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौंकेन्द्रित आन्दोलनमा आउने बताइएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयास समेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।

सरकारको यसप्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्नचिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्न दुई सय ८९ सहकारीमा आवद्ध रहेका बताए । आफूहरु अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतीमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।

‘सहकारी विभागमा यही आउँदो ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिर्न कार्यक्रमको सुरुवात गर्दैछौं । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गणबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौं ।’ उनले भने, ‘उहाँहरुका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौं । चैत १ गते देशभरका पीडित बचतकर्तालाई काठमाडौं आह्वान गर्छौं । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौं ।’

अभियानका महासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दु:ख नदिएका सहकारीले पनि आफूहरुले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भएपनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरुले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ ।