सोमबार, कार्तिक १० गते २०८३

साकोस अध्यक्षको गोष्ठी सुरु, चैत्र भित्रै ऋण असुली न्यायधिकरण गठन हुनेः महासंघ अध्यक्ष मल्ल


फाल्गुण ४, २०८० शुक्रबार
साकोस अध्यक्षको गोष्ठी सुरु, चैत्र भित्रै ऋण असुली न्यायधिकरण गठन हुनेः महासंघ अध्यक्ष मल्ल

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘साकोस  अध्यक्षहरुको गोष्ठी’ सुरु भएको छ। राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा गोष्ठीको सुरुवात भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै  मल्लले संस्थाहरुले सदस्यको मन जित्न नसकेसम्म सहकारीको समस्या समाधान गर्न नसकिने बताइन् । सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागको बेलामा बचत फिर्ता गर्न नसकेको उनको भनाई छ। आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने उनले बताइन् । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उनले सुनाइन् । मुुलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय जति सहकारीमा समस्या आए पनि त्यसको प्रभाव सिंगाे अभियानमा परेको मल्लको भनाई छ ।

गोष्ठीले अध्यक्षहरुको आत्मविश्वास, ज्ञान र सिप विकास गरी  संस्थालाई अगाडी बढाउन टेवा पुग्ने उनको विश्वास छ । केही संस्था शुसासनमा नचल्दा समस्या आएको भन्दै उनले संस्थागत शुसासन कायम गर्दै अगाडी बढ्न संस्थाहरुलाई उनले निर्देशन दिइन् । एउटा अध्यक्षको उपस्थितिले हजारौं सदस्यको प्रतिनिधित्व गर्ने भन्दै उनले गोष्ठीमा सिकेका कुरा संस्थाका सञ्चालक, व्यवस्थापन र सदस्यलाई पनि सिकाउन उनले सुझाव दिइन् । सहकारी प्रवद्र्धन कोषको पैसा खर्च गर्न सरकार तयार रहेको र छिट्टै उक्त कोषको रकम परिचालन गरी सहकारीको विकास र प्रवद्र्धन गर्ने उनले जनाइन् ।  

सहकारीलाई सरकारले सहुलियत ऋण नदिदाँ सदस्यलाई २–३ प्रतिशत बढी ब्याज दिएर बचत लिनु पर्ने बाध्यता रहेको उनले सुनाइन् । सरकारले सहकारीलाई सहुलियत ऋण दिए र कानुनमा संसोधन गरिदिए सहकारीले पनि उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने मल्लले बताइन् । सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि  राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उनले जानकारी दिइन् । सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको वोर्ड राखेर बचत संकलना गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नु पर्नेमा उनले जोड दिइन् । सरकारले ऐन नियम कार्यन्वयनमा उदासिनता देखाउँदा अहिलको समस्या आएको उनको भनाई छ । अहिले बचत तथा  ऋण सहकारीमा बढी समस्या रहेको र संघले साकोसका अध्यक्षहरुलाई सहभागि गराएर गोष्ठी आयोजना गरेकाले यसले सकरात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनेको विश्वास छ ।

नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ (नेफस्कून )का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा शुसासन र शुद्धिकरण कुरा उठेको भए पनि त्यसको कार्यन्वयन आफैबाट सुरु गर्नु पर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मुल्याङक राज्यले गर्नु पर्नेमा उनेको जोड छ । सहकारीका समस्यामा राज्य पनि जिम्मेवार हुनु पर्ने र नीतिगत तथा संरचनागत व्यवस्था गरिदिए सहकारीका समस्या हल गर्न सकिने उनको भनाई छ । सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको भन्दै उनले त्यसका लागि राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल  व्यवस्थापन गर्न जोड दिए । सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको भन्दै उनले त्यसका लागि समय लाग्ने बताए । कोभिड महामारीका बीचमा पनि सहकारीले घर घरमा गएर सदस्यहरुलाई सेवा प्रवाह गरेको कुरा राज्यले विर्सन नहुने अध्यक्ष ढकालले बताए । सहकारीमा सुधारको  विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने ढकालले बताए ।

तहगत र संरचनागत समस्या सहकारीमा रहेको र को कहाँ रहने भनेर छलफल गरेर अगाडी बढ्नु पर्नेमा उनले जोड दिए । एउटा पारम्भिक सहकारी संस्था जिल्ला , प्रदेश र केन्द्रीय संघमा  आवद्ध हुनुपर्ने तर संघहरुले सदस्यको हितका लागि काम गर्न नसक्दा वितृष्णा बढेर गएको भन्दै उनले सदस्य संस्थाको विकास र   प्रवद्र्धनमा सबैले काम गर्नु पर्नेमा उनले जोड दिए । कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा पनि सहकारीले अहिलेको समस्या भोग्नु परको उनले बताए । 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्टले गोष्ठीबाट नयाँ कुरा सिकेर संस्थालाई शुसासनयुक्त र जोखिम रहित बनाउन सघाउ पुर्याउने बताए । सिकेका कुरालाई संस्थामा लागू गर्न सके संस्थालाई दिगो रुपमा अगाडी बढाउन र सदस्यको विश्वास जित्न थप टेवा पुग्ने उनको भनाई छ । 

1bdb4fdb-e52c-477b-8ab2-1e61ead6613a.jpg
 
 त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको बताए । शुसासान कायम गरी सदस्य केन्द्रीत  भएर संस्था  चलाउन सके सहकारीमा समस्या नआउने उनले बताए । सहकारीले सदस्य शिक्षालाई अगाडी बढाउन सके र सदस्यले सहकारीको महत्व बुझेमा अहिलेको समस्या समाधान गर्न सकिने उनको बुझाई छ । सहकारी शिक्षा तथा तालिम मार्फत सदस्यलाई सहकारी बुझाउनु पर्नेमा उनको जोड छ । सहकारीमा शुसासन कायम गरी सदस्यको विश्वास जित्न सबै सहकारीकर्मी लाग्नु पर्ने सापकोटाले बताए । सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि गोष्ठीले सघाउने उनले बताए । 

संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उदेश्यले गोष्ठीको आयोजना गरिएको बताए । अध्यक्षहरु मर्यादित , अनुशासित र जवाफदेही हुन सके सहकारीमा समस्या नआउने उनको भनाई छ । सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उनले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिए । अध्यक्ष जति क्रियशिल हुन्छ , त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने  जनाए ।संघका बरिष्ठ उपाध्यक्ष करुणा रत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान समस्यासँग लड्न र अध्यक्षहरुमा सकरात्मक भावना विकास गर्न गोष्ठी सहयोगी हुने अपेक्षा गरे । सहकारीमा शुसासन कायम गर्दै  सदस्य केन्द्रीत भएर सञ्चालन गर्न र समस्या समाधान गर्न गोष्ठीले सघाउने उनले बताए । नगरकोटको रत्नागिरी होटलमा आजबाट सुरु भएको गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा एक सहकारी संस्थाको अध्यक्षहरुको सहभागिता रहेको छ ।