सोमबार, कार्तिक १० गते २०८३

पोखरा रोयल सहकारीको नयाँ अभ्यास ,कर्मचारीमा पठन सस्कृति विकास कार्यक्रम शुभारम्भ 


फाल्गुण ३, २०८० बिहीबार
पोखरा रोयल सहकारीको नयाँ अभ्यास ,कर्मचारीमा पठन सस्कृति विकास कार्यक्रम शुभारम्भ 


पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले  नयाँ अध्यास सुरु गरेको छ । संस्थाले  कर्मचारीमा पठन संस्कृति विकास गर्ने कार्यक्रमको शुरुवात गरेको छ । संस्थाले श्रीपञ्चमी तथा सरस्वती पूजाको दिनको अवसरमा कर्मचारीमा पठन सस्कृति विकास कार्यक्रम शुभारम्भ गरेको हो ।

संस्थामा कार्यरत कर्मचारीहरुको पठन संस्कृतिलाई थप मद्धत पुर्याउने अभिप्रायले संस्थाले ४ वटै कार्यालयमा हरेक महिनाको अन्तिम शुक्रबार एक घण्टा अध्ययनको लागि समय व्यवस्थापन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए ।

अबदेखि प्रत्येक कर्मचारीले हरेक महिना एउटा पुस्तक अनिवार्य पढ्नै पर्ने र आफुले पढेको पुस्तकको समिक्षात्मक प्रतिवेदन समेत संस्थामा पेश गर्नुपर्ने उनले बताए । पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक तथा पत्रपत्रिका पढ्ने, हातले लेख्ने र रेडियो सुन्ने जस्ता संस्कार हराउँदै गएको छ ।

कम्प्यूटर, मोबाईल र ल्यापटपमा मात्र भर पर्दा एकातिर आँखामा समस्या आउने गरेको र अर्कोतिर लिखित दस्तावेज, पुस्तकहरुको अध्ययन गर्ने बानी हट्दै गएकोले यसको जगेर्ना गर्न समेत पठन संस्कृतिको विकास गरिएको गुरुङ्गले बताए । संस्थामा ५० जना बढी कर्मचारीहरु कार्यरत छन् ।

संस्थाले प्रधान कार्यालयमा पुस्तकालय तथा सहकारी प्रदर्शनी कक्ष र हरेक सेवा केन्द्रहरुमा मिनि लाईब्रेरीको अवधारणा अगाडि सारेको छ । कार्यक्रम शुभारम्भका दिन चारवटै कार्यालयका कर्मचारीले आफुले मन परेको एक एक वटा पुस्तक लिएर आएका थिए । ती पुस्तकहरु गोला प्रथाको माध्यमबाट एकले अर्का साथीसँग साटफेर गरेर अध्ययन संस्कारको शुरुवात गरिएको थियो ।

अब हरेक महिनाको एक दिन एक घण्टा सबै कर्मचारीहरुले संस्थाको अध्ययन कक्षमा बसेर आफुले मन पर्ने पुस्तक पढ्छन् र यसले कर्मचारीहरुमा सकारात्मक उर्जाको विकास हुने संस्थाका मूख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताए ।