सोमबार, कार्तिक १० गते २०८३

बंगलामुखी साकाेसद्वारा सदस्यलाई लक्षित गरी विस्तारित मञ्चकाे आयोजना


पौष २९, २०८० आइतबार
बंगलामुखी साकाेसद्वारा सदस्यलाई लक्षित गरी विस्तारित मञ्चकाे आयोजना

बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । सदस्यहरुलाई लक्षित गरेर संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु रहेका थिए । 

प्रमुख अतिथि लाखाजुले बैंक वित्तीय संस्था भन्दा सहकारी धेरै राम्रो भए पनि सहकारीको बोर्ड राखेर केहि व्यक्तिले सदस्यको करोडौं बचत अपचलन गरेकाले सहकारीप्रति अविश्वास सिर्जना भएको उल्लेख गरे । समुदाय र सदस्यकेन्द्रित संस्थाहरु सुरक्षित रहेको भन्दै उनले समुदायमा आधारित भएर वित्तीय कारोबार गर्ने संस्थाहरुमा मात्र सदस्य बनी बचत गर्न उनले सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि डा. ताराप्रसाद गिरीले “सकारात्मक सोच विकास” सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले प्रत्येक दिन ससानो रकम बचत गर्दै जाँदा भविष्यमा ठूलो रकम जम्मा हुने भएकाले अहिलेबाटै बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । बचतमा ठूलो शक्ति भएको भन्दै उनले फजुल खर्च घटाएर नियमित रुपमा सानो रकम बचत गर्दा पनि भविष्यमा आइपर्ने खरखाँचो टार्न र जीवनयापनमा सहजता आउने बताए । कमाउनु मात्रै ठूलो कुरा नभई बचत गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई थियो । सदस्यले नियमित रुपमा बचत गर्नुका साथै ऋणको साँवाब्याज बुझाएमात्र संस्था राम्रो हुने उनले बताए । त्यसैगरी सदस्यहरु पनि संस्थाप्रति चनाखो हुनुपर्ने र सञ्चालक समितिले गर्ने हरेक गतिविधिलाई सुक्ष्म ढंगले नियाल्न उनले सुझाए । संस्था समस्यामा पर्नुमा सञ्चालक मात्र दोषी नभई कतिपय अवस्थामा सदस्यहरुको वेवास्ता पनि कारक भएको उनले जनाए ।

bangla mukhi 1.jpg

संस्थाका अध्यक्ष विवेक श्रेष्ठले सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रम आयोजना गरेको बताए । कतिपय सहकारी संस्था वित्तीय संकटका कारण समस्यामा परेका भएपनि बंगलामुखीको समग्र वित्तीय अवस्था राम्रो रहेकाले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे ।

सदस्यको बचत सुरक्षित ठाउँमा लगानी गरेको भन्दै उनले संस्थाप्रति कुनै अविश्वास नगर्न भन्दै कार्यालयमा आएर संस्थाको हरेक गतिविधि र लगानीको अवस्थाबारे जानकारी लिन उनले आग्रह गरे । संस्थाले आयोजना गर्ने हरेक गतिविधिमा सक्रिय सहभागिता  जनाउन सदस्यहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाले दिने सेवासुविधा र समग्र वित्तीय अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए ।  २०६४ साल साउन १६ गते १० लाख शेयर पुँजीबाट सुरु भएको संस्थामा हालसम्म  १४ करोड ४८ लाख १४ हजार शेयर पुँजी पुगेको उनले बताए । त्यसैगरी संस्थाको जगेडा कोष २ करोड ८५ लाख ३३ हजार पुगेको छ । संस्थामा करिब ३५०० शेयर सदस्य रहेको उनले बताए ।

त्यसैगरी संस्थामा ८५ करोड २९ लाख ५१ हजार बचत संकलन रहेको छ भने ऋण लगानी १ अर्ब ५ करोड २८ लाख पुगेको छ । संस्थामा ११.२० प्रतिशत अर्थात ९ करोड ५७ लाख तरलता रकम रहेको छ । संस्थामा १९ जना कर्मचारी कार्यरत रहेका छन् । 

संस्थाले इ टेलर सञ्चालनमा ल्याएको र सदस्यहरुले क्युआर कोड स्क्यान गरी बचत निकाल्न र जम्मा गर्न सकिने उनले जानकारी दिए । सदस्यहरुलाइ यसको प्रयोग कसरी गर्ने भनेर सिकाउँदे आएको र निकट भविष्यमा नै चेकबुक रहित कारोबार बनाउने लक्ष्य लिएको उनको भनाइ छ।

सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि संस्थाले टेवा पुर्‍याउँदै आएको छ । सदस्यहरुको वित्तीय कारोवारलाई सहज बनाउन मोबाइल बैङ्किग र इन्टरनेट बैंङ्किग सेवा सञ्चालनमा ल्याएको र सदस्यहरुले यसको प्रयोग गरिरहेको उनले बताए ।

bangla mukhi 3.jpg

सदस्यहरुले दैनिक २ लाख रुपैया फण्ड ट्रान्सफर गर्न सक्ने सीइओ श्रेष्ठले बताए । त्यसका साथै  संस्थाले सदस्यहरुलाई क्यूआर कोड समेत उपलब्ध गराएको छ । संस्थाले सिटिजन लाइफ इन्स्योरेन्ससँग सहकार्य गरेर ऋणीको बीमा गर्दै आएको छ भने विभिन्न बीमा कम्पनीको हरुको प्रिमियम भुक्तानीको सुविधा समेत प्रदान गरिरहेको छ । संस्थाले सदस्यहरुको सुविधाका लागि ब्लुबुक नवीकरणको सुविधा समेत प्रदान गर्दै आएको छ । संस्थाले सञ्चालनमा ल्याएको बंगलामुखी स्मार्ट एपको माध्यमबाट सदस्यहरुले युटिलिटी पेमेण्टका साथै अन्य विविध सुविधाहरु लिन सक्ने उनले जानकारी दिए ।