राष्ट्रिय सहकारी महासंघ आफैले बनाएको सहकारी संस्थागत संस्कार मार्गदर्शन उल्लङ्घन गरेको छ । महासंघले बनाएको उक्त मार्गदर्शन २०७९ मा सहकारी संघ संस्थाले निर्धारित समयमै साधारण सभा सुरु गरी बढीमा ४५ मिनेटमा सम्पन्न गर्ने उल्लेख छ । तर महासंघको आज सम्पन्न भएको ३१ औं साधारण सभा उद्घाटन सत्रमा नै ३ घण्टा भन्दा बढी समय खर्चेको छ । महासंघले तयार पारेको मार्गदर्शनमा आसन ग्रहणलाई छरितो बनाउने,स्वागत मन्तव्य ५ मिनेटभित्र सम्पन्न गर्ने,वक्ताहरुको भनाई राख्न समय तोकिदिने,पूर्ण निर्धारित कार्य तालिका अनुसार कार्यक्रम संचालन गर्ने जस्ता कुरा उल्लेख छ ।
तर मार्गदर्शनमा उल्लेख भएको कुरा महासंघले नै पालना गरेको छैन । ५ मिनेटमा शुभकामना मन्तव्य राख्ने कुरा मार्गदर्शनमा भए पनि महासंघको साधारण सभामा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरुले २० मिनेट भन्दा कम भाषण गरेका छैनन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारी संस्थागत संस्कार मार्गदर्शन पालना नभएको प्रति प्रश्न गरे । उनले आफुले पनि सहकारी संस्थागत मार्गदर्शन अध्ययन गरेको बताउँदै मार्गदर्शनमा १ घण्टा भित्र कार्यक्रम सक्ने उल्लेख भए पनि त्यो हुन नसकेको बताए । आफु निर्धारित समयमा आएको र यस्तो कुरा भन्नको लागि मात्रै होकि आफुले पनि कार्यान्वयन गर्ने हो भनेर प्रश्न गरे । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले समाजमा पछाडी परेका समुदायलाई सहकारीको माध्यमबाट माथी उठाउन काम गर्नु पर्ने बताए । सहकारी क्षेत्रको समस्या र चुनौतीका विषयमा आफु जानकार रहेको बताउँदै घिमिरेले त्यसको समाधानको लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्ने जनाए ।
राज्य नपुगको ठाउँमा र नीजि क्षेत्रलाई फाईदा र सुरक्षा नह्ने ठाउँमा समेत सहकारीले सामुहिक प्रयासबाट परिणाम दिने ढंगले काम गरेको उनले बताए । पछाडी परेका समुदायलाई सामुहिक प्रयासबाट आर्थिक रुपमा माथी उठाउने काम सहकारी गरेको घिमिरेको भनाई छ । सहकारीको माध्यमबाट राष्ट्रिय उत्पादकत्व वृद्धि गरी बजारिकरणमा पनि सहकारीले काम गर्नु पर्नेमा उनको जोड छ । सहकारी क्षेत्रमा देखा परेको विकृतिको कारण को हो, त्यसमा पनि गम्भिर छलफल हुन आवश्यक रहेको घिमिरेको भनाई छ । उनले भने,‘नियमनकारी निकायको भूमिका वा,कानुनको अभाव हो । अथावा कार्यन्वयन गर्ने सरकारको कम्जोरी होकि, नियम बनाउने संसदको कम्जोरी ? यस विषयमा व्यापाक छलफल गर्नुस् ।’ सहकारीलाई अगाडी बढ्न नदिने ४७ वटा विधेयक संसोधनको विषयमा उनले भने,हाम्रा विधेयकहरुको सुरुवात कहाँबाट हुन्छ ? विधेयकहरु माथी छलफल कसरी हुन्छ र विधेयकहरु पारित पास र फेल कसरी हुन्छ भन्ने सबैलाई थाह छ । ’ साधारण सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको सभापतित्वमा सम्पन्न भएको छ ।
नेपालपत्र संवाददाता