सोमबार, कार्तिक १० गते २०८३

बचतकर्ताको रकम हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ


पौष २४, २०८० मंगलबार
बचतकर्ताको रकम हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा  रहेको  कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।  सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए । सहकारी सञ्चालक समितिका सचिवसमेत  रहेका  प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ ।

 यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी  गरिसकेको छ।  सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।  उक्त सहकारी संस्थाले विगत २ बर्षदेखि सदस्यहरुको बचत फिर्ता गर्न सकिरहेको छैन् । सदस्यहरुले बचत फिर्ताको लागि पटक पटक अनुरोध गर्दै आएक थिए । सञ्चालकहरुले भने आर्थिक मन्दीका  कारण  ऋण असुली समस्यामा भएको भन्दै सदस्यहरुलाई टाढ्दै आएका थिए ।