सोमबार, कार्तिक १० गते २०८३

राष्ट्र बैंक अध्ययनः लुम्बिनी प्रदेशमा १५ प्रतिशतले सहकारीमा सदस्य वृद्धि


पौष १३, २०८० शुक्रबार
राष्ट्र बैंक अध्ययनः लुम्बिनी प्रदेशमा  १५ प्रतिशतले  सहकारीमा सदस्य वृद्धि


लुम्बिनी प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमा  सदस्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आ.व. २०७९।८० को प्रादेशिक आर्थिक गतिविधिले यस्तो देखाएको  हो । राष्ट्र बैंकले उक्त प्रदेशमा रहेका सहकारी मध्येबाट  रुपन्देहीका ५, नवलपरासी (ब.सु.प.)का २, पाल्पाका २, कपिलवस्तुका १ तथा बाँके जिल्लाका ३ गरी जम्मा १३ वटा सहकारी संस्थाहरु अध्ययनका लागि समेटेको थियो । उक्त सहकारी संस्थाहरुको स्थलगत सर्वेक्षण गरी पुँजी, बचत, ऋण, सदस्य सङ्ख्या र रोजगारी सङ्ख्या सम्बन्धी तथ्याङ्कको विश्लेषण गरिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख  छ ।

अध्ययनमा समेटिएका बचत तथा ऋण सहकारी संस्थाहरुमा आबद्ध सदस्य सङ्ख्या गत वर्षको तुलनामा १५.८५ प्रतिशतले वृद्धि भई १ लाख ९ हजार ७ सय ९६ जना पुगेको छ । उक्त सङ्ख्या गत वर्ष २०.३४ प्रतिशतले बढेको थियो । त्यसैगरी कर्मचारी सङ्ख्या गत वर्षको तुलनामा ८.४४ प्रतिशतले वृद्धि भई ३ सय ४७ पुगेको छ । उक्त सङ्ख्या गत वर्ष ११.५० प्रतिशतले बढेको थियो । 

अध्ययनमा समेटिएका सहकारी संस्थाहरुको कुल पुँजी समीक्षा वर्षमा ५.०६ प्रतिशतले वृद्धि भई रु. ४ अर्ब ४२ करोड ७६ लाख पुगेको छ । गत वर्षमा भने सो पुँजीमा ८.७९ प्रतिशतले वृद्धि भएको थियो । अध्ययनमा समावेश गरिएका बचत तथा ऋण सहकारी संस्थाहरुको बचत समीक्षा वर्षमा गत वर्षको तुलनामा १.४१ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ११ करोड ५६ लाख पुगेको छ । अघिल्लो वर्षमा उक्त बचत ४.४४ प्रतिशतले वृद्धि भएको थियो अध्ययनमा समेटिएका बचत तथा ऋण सहकारी संस्थाहरुले समीक्षा वर्षमा प्रवाह गरेको कर्जामा गत वर्षको तुलनामा १.४७ प्रतिशतले ह्रास आई रु.९ अर्ब ५२ करोड ८५ लाख पुगेको छ । अघिल्लो वर्ष उक्त कर्जामा १८.८१ प्रतिशतले वृद्धि भएको थियो ।