सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कुनको खुद बचतमा ९९ प्रतिशतले संकुचन, सदस्य संस्थाले पाएनन् लाभांश


पौष १२, २०८० बिहीबार
नेफ्स्कुनको खुद बचतमा ९९ प्रतिशतले संकुचन, सदस्य संस्थाले पाएनन् लाभांश

 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को खुद बचतमा ९९.१० प्रतिशतले संकुचन आएको छ । नेफ्स्कुनको हालै सम्पन्न ३२औं वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आयकर पछि ४५ करोड ७८ लाख ७८ हजार खुद बचत गरेको संघले गत आर्थिक वर्ष २०७९/८० मा ४१ लाख १९ हजार मात्र खुद बचत गर्न सकेको छ । 

संघका निवर्तमान कोषाध्यक्ष दिपक पनेरुले प्रस्तुत गरेको आ.व. २०७९।८० को आर्थिक प्रतिवेदनमा सो उल्लेख छ । खुद बचतमा अत्याधिक गिरावट आएकाे कारणले सदस्य संस्थाहरुलाई शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वापतको रकम समेत नेफ्स्कुनले यसपटक वितरण नगर्ने भएको छ । 

शेयर लाभांश कोषमा छुट्याइएको १९ लाख ३० हजार र संरक्षित पुँजी फिर्ता कोषमा छुट्याइएको ७ लाख ६३ हजार रकम संघको जगेडा कोषमा स्थानान्तरण गरिने भएको छ । 

संघमा ४ हजार ६४० प्रारम्भिक संस्था र ६५ जिल्लास्तरीय संघ आवद्ध रहेका छन् । वित्तीय सहकारी संस्थाहरुमा देखा परेको आर्थिक संकुचनका कारण सदस्य संस्थाहरुबाट न्यून ब्याज असुली तथा भाखा नाघेको ऋण वृद्धि भइ सोका लागि कर्जा जोखिम कोषमा व्यवस्था गर्नुपरेका कारण संघको आयमा अत्याधिक गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । 

२०८० असार मसान्तसम्म संस्थाको शेयरपुँजी १ अर्ब ७४ करोड ९२ लाख पुगेको छ । संघले गत आ.व. मा १७ करोड ८४ लाख ५३ हजार सम्भावित कर्जा नोक्सानी कोषमा छुट्याएको छ । लगानीमा रहेको कुल ऋण लगानीको ३.१ प्रतिशत कुल भाखा नाघेको ऋणका लागि पल्र्स प्रणाली अनुसार पर्याप्त कोष रहेको प्रतिवेदनमा उल्लेख छ।

संघले गत असार मसान्तसम्म नेफ्स्कुनको बचत संकलन २३ अर्ब ३३ करोड ८ लाख पुगेको छ भने सोही अवधिमा ऋण लगानी १५ अर्ब ३१ करोड २६ लाख रुपैयाँ रहेको छ । 

संघको खराब कर्जाको मात्रा बढ्दै गएकाले आगामी दिनमा ऋण लगानी गर्नुपूर्व ऋणी संस्थाहरुको गहन विश्लेषण, पर्याप्त सुरक्षणको व्यवस्था एवं ऋणी संस्थाका सञ्चालकहरुबाट व्यक्तिगत तथा सामुहिक जमानी गराई ऋण लगानी गर्ने नीति अवलम्बन गरिएको संघले जनाएको छ । 

संघका निवर्तमान लेखा सुवरीवेक्षण समिति संयोजक नवराज सापकोटाले प्रस्तुत गरेकाे लेखा समितिको प्रतिवेदनमा संघले ऋण लगानी गर्दा सदस्य संस्थालाई एउटै धितो फरक फरक ऋण लगानीमा प्रयोग गर्ने गरेको र कतिपय ऋण धितो रोकका बेगर नै लगानी हुने गरेको पाइएको भन्दै अनिवार्य रुपमा धितो रोक्का गर्न र तोकिएका सम्पूर्ण काुननी कागजात तयार गरेपश्चात् मात्र ऋण लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।