आइतबार, आश्विन १८ गते २०८३

साधारणसभा नजिकिएसँगै नेफ्स्कुनमा बढ्याे चुनावी सरगर्मी

पौष ४, २०८० बुधबार
साधारणसभा नजिकिएसँगै नेफ्स्कुनमा बढ्याे चुनावी सरगर्मी

 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को साधारणसभा नजिकिएसँगै चुनावी सरगर्मी बढेर गएको छ । आगामी पौष ७ र ८ गते हुने अधिवेशनसहितको ३२औं साधारणसभा नजिकिएसँगै एक पछि अर्को आकांक्षीहरुले उमेदवारी घोषणा गर्न थालेका छन् ।

नेफ्स्कुनको चुनावी कार्यतालिका अनुसार पौष ७ गते उमेदवारहरुको दरखास्त लिने तथा अन्तिम नामावली प्रकाशत गर्ने समय तोकिएको भएपनि आकांक्षीहरुले आआफ्नो उमेदवारी घोषणा गर्न शुरु गरेका हुन् । हाल नेफ्स्कुनमा अध्यक्ष रहेका परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल दुवैले अध्यक्ष पदका लागि आफ्नो दावी प्रस्तुत गरेका छन् ।

हालका अध्यक्ष पौड्यालले एक कार्यक्रममार्फत नेफ्स्कुनमा दोश्रो कार्यकालका अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।पौडेलले आफ्नाे कार्यकालमा थालनी गरेका केही अधुरा र बाँकी रहेका काम सम्पन्न गर्न थप एक कार्यकाल नेतृत्वमा दोहोराउने जनाएका छन् । पहिलाे कार्यकालकाे शुरूवातसँग विश्वव्यापी काेभिड १९ काे प्रकाेप तथा आर्थिक मन्दीका कारण आफुले बनाएका याेजना पूरा गर्न बाँकी रहेकाे भन्दै उनले ती काम पूरा गर्नका लागि उमेदवारी घाेषणा गरेकाे बताए । सहमति, सहकार्य र सहअस्तित्वबाट नेतृत्व चयन गर्ने उनकाे भनाइ छ । त्यसैका लागि बाँकी पदहरूमा उमेदवारी सार्वजनिक नगरिएकाे र सहमतिबाट नै अगाडि बढ्ने उनले बताए । 

यता बरिष्ठ उपाध्यक्ष ढकालले भने आफु नेफ्स्कुनकाे बरिष्ठ उपाध्यक्ष भएकाले स्वत: अध्यक्ष पदको दावेदार रहेको बताउँदै आएका छन् । विगत अढाई दशकदेखि साकोस अभियानमा योगदान दिँदै आएको भन्दै ढकालले साकोस अभियानको छविलाई थप उचाईमा लैजान आफ्नो उमेदवारी रहेको जनाएका छन् । खस्किएकाे साकाेस अभियानलाइ माथि उठाउने, ऐन नियम कार्यान्वयनमा स्थानीय, प्रदेश र संघीय सरकारसँग बहसपैरवी गर्ने एवं बचतऋणकाे छुट्टै ऐन जारी गर्न पहल गर्ने मुख्य एजेण्डा रहेकाे उनले बताउँदै  आएका छन् । 

त्यसैगरी नेफ्स्कुनको उपाध्यक्ष, महासचिव एवं सञ्चालक पदका लागि पनि सहकारीकर्मीहरुले विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमार्फत उमेदवारी घोषणा गर्ने क्रम जारी राखेका छन् । बचतऋण अभियानकाे एक मात्र छाता संघ नेफ्स्कुन रहेकाले देशभरबाट नेतृत्वका आकांक्षीहरू देखिएका छन् । नेफ्स्कुनमा ४ हजार ५ सयकाे हाराहारीमा प्रारम्भिक संस्था आवद्ध रहेकाे भएतापनि २ हजार ६०० संस्थाले साधारणसभाका लागि प्रतिनिधि छनाैट गरी पठाएका छन् ।