सोमबार, कार्तिक १० गते २०८३

शिव शिखर सहकारी पीडितले बनाए संघर्ष समिति, बचत फिर्ताको लागि पहल लिइदिन सरकारसँग माग


पौष १, २०८० आइतबार
शिव शिखर सहकारी पीडितले बनाए संघर्ष समिति, बचत फिर्ताको लागि पहल लिइदिन सरकारसँग माग


शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । हिजो (शनिबार) काठमाडौंमा पीडित बचतकर्ताहरुको भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।  आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संघर्ष समिति गठन भएको जानकारी गराएका हुन् ।

शिव शिखर सहकारीमा बचत गरेका करिब एक लाख ८० हजार बचतकर्ता र लगानी संस्थाहरुको अर्बौं रकम डुब्ने खतरा रहेकाले  बचतकर्ताको रकम संरक्षणका लागि संघर्ष समिति बनाइएको संयोजक लम्सालले बताए । 
‘सहकारीको विश्वासमा परेर एक लाख ८० हजार बचतकर्ताले बचत गर्दै आएका थिए । जसको बचत रकम करिब १० अर्ब छ । शिवशिखरको नाममा पैसा उठाउने काम यसका संस्थापक अध्यक्ष केदारनाथ शर्मा जो अहिले कैलाली कारागारमा छन् । केदारनाथ शर्मा संस्थापक भएको शिवशिखर सहकारी संस्थालाई नेपाल सरकारले ठगी गर्ने लाइसेन्स दिएको जस्तो भएको छ,’– अध्यक्ष लम्सालले भने ।

संघर्ष समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ सह– संयोजक महेन्द्र महर्जन, सह–संयोजकहरुमा  शुभाषचन्द्र भट्ट (सुदूरपश्चिम प्रदेश), गणेश थापा (कर्णाली प्रदेश), सागर भण्डारी (लुम्बिनी), खेमराज सापकोटा (गण्डकी), बद्रिनाथ पोखरेल –बागमती) रहेका छन् ।  सचिवमा गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सूचना सदस्य सुमन गोपाली, सदस्यहरुमा वेद प्रकाश महरा, केशव क्षेत्री, तारा कुँवर, छविलाल बस्नेत र तुल्सीराम कोजु रहेका छन् ।  त्यसैगरी, सल्लाहकारहरुमा विमल साउद, कमला जोशी र सुन्दर बानियाँ रहेका छन् ।

संघर्ष समितिले नेपाल सरकारसँग बचतकर्ताकोे सभ्य र शान्त आवाजलाई कमजोरीका रुपमा नलिन अनुरोध गरेको छ । साथै, शिव शिखरका संस्थापक अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा बैंकमा रहेको कर्जा विना ब्यज चुक्ता गराएर बाँकी रकम पीडित बचतकर्तालाई फिर्ता गराउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् । 
साथै, संघर्ष समितिले शिव शिखरका अध्यक्ष  शर्माले जग्गा किन्नका लागि दिएको अग्रिम रकम संकलन गरी फिर्ता लिनुपर्ने रकम एक लाखभन्दा कम भएका बचतकर्तालाई फिर्ता गर्न सुरु गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, शिव शिखर सहकारीबाट प्रवाहित कर्जा असुल उपर गर्न सरकारले पहलकर्मी लिनुपर्ने उनीहरुको माग छ । उनीहरुले शिव शिखर सहकारीका अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा विभिन्न वित्तीय संस्थाले कर्जा प्रवाह गरेको र ती वित्तीय संस्थाहरुले लिलामीमार्फत् आफ्नो–आफ्नो कर्जा असुल उपर गर्न थाल्दा बचतकर्ताको बचत डुम्ने खतरा बढेको बताएका छन् । उनीहरुले लिलामी प्रक्रिया रोक्न समेत सरकार समक्ष आग्रह गरेका छन् । 
उनीहरुले बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता र बचत रकम फिर्ताको लागि पहल लिन सरकारसँग माग गरेका छन् । शिव शिखर सहकारीका देशभर ३६ वटा शाखा कार्यालय रहेका छन् । हाल शिव शिखरका सञ्चालक असिम राज भण्डारी, पुष्पकर मल्ल र अध्यक्ष शर्मा र उनकी श्रीमती गीता पक्राउ परिसकेका छन् ।