सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कुनमा अबकाे नेतृत्व कस्ताे आउनुपर्छ ?

पौष १, २०८० आइतबार
नेफ्स्कुनमा अबकाे नेतृत्व कस्ताे आउनुपर्छ ?

मुलुकभरका बचत तथा ऋण सहकारी संस्थाहरुको एकमात्र छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)को अशिवेशन सहितको साधारण सभा हुँदैछ । आगामी पौष ७ र ८ गते काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको ३२औं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति समेत निर्वाचित गर्नेछ । अब नेफ्स्कुनको नेतृत्व कस्तो हुनुपर्छ र साकोस अभियानलाई गतिशील बनाउन कस्ता व्यक्ति नेतृत्वमा पुग्नुपर्छ भने नेपालपत्र न्यूजले सहकारीकर्मीसँग गरेको कुराकानीः 

टिपनटापन गरेर लगेको नेतृत्वले राम्रो काम गर्न सक्दैन

कृष्ण गोविन्द लाखाजु, 
अध्यक्ष, भक्तपुर बचत संघ 

सहकारी केन्द्रिय नेतृत्वमा पुग्ने व्यक्तिले तल्लो तहसम्मको कुरा बुझेको हुनुपर्छ । प्रारम्भिक संस्था, जिल्ला र प्रदेशसम्म सहकारी बुझ्ने व्यक्ति नेतृत्वमा पुग्दा राम्रो हुन्छ । एकैपटक केन्द्रिय नेतृत्वमा पुग्ने तर प्रारम्भिक सहकारी संस्थाको कुरा नबुझ्ने नेतृत्व भयो भने सहकारी अभियानलाई राम्रो बनाउन सक्दैन । प्रारम्भिक संस्थादेखि नै राम्रोसँग संस्था सञ्चालन गरेका व्यक्तिले नेतृत्व पायो भने समग्र सहकारी अभियानलाई नै राम्रो हुन्छ । विगतदेखि नै हामीले राजनीतिक भागबण्डाको आधारमा टिपनटापन गरेर लगेको नेतृत्वले राम्रो काम गर्न सक्दैन भन्दै आएका छौं । अहिलेको अवस्थामा नेफ्स्कुनलाई न त राज्यले न त तल्लो तहले नै मानेको अवस्था छ । देशविदेशको कुरा गरेर नेफ्स्कुन अगाडि बढिराखेको छ र अहिले नेफ्स्कुनलाई व्यवस्थापनले नै धानेको अवस्था छ । नेफ्स्कुनमा व्यवस्थापन हावी भएको देखिन्छ ।

जुन तरिकाले नेफ्स्कुन अगाडि जानुपर्ने थियो त्यो तरिकाले अगाडि बढ्न नसक्नुको कारण टिपनटापन नेतृत्व नै हो । अहिले सहकारी अभियानमा विकृति आएको छ । विकृति निराकरण गर्नका लागि निरन्तर लागि पर्ने नेतृत्व नेफ्स्कुनमा चाहिन्छ । संघहरुले आर्थिक कारोबारलाई मात्र ध्यान दिएकाले सहकारी क्षेत्र बिग्रेको हो । समाजमा रहेका सहकारी संस्थाले के गरिरहेका छन् र विकृति ल्याउने संस्थालाई बेलैमा त्यसबाट रोक्न ध्यान नदिँदा यस्तो भएको हो । सहकारीमा देखिएका विकृतिलाई निराकरण गर्न भनाई र गराई दुवैमा अब्बल व्यक्ति अब नेतृत्वमा पुग्नुपर्छ । विगतमा नेफ्स्कुनले सदस्यता प्रदान गर्दा विषयगत संघमा अनिवार्य प्रवेश गराउने काम गर्नुपथ्र्यो । संस्थाहरुले आफ्नो नियमकानुन र आफ्नो विनियमावलीहरु पालना गरेको छ कि छैन त्यो सबै अध्ययन गरेर मात्र सदस्यता दिनुपथ्र्यो । तर त्यो नगरी पछि राम्रो बनाउने भन्दाभन्दै संस्थाहरु समस्यामा परिसके । सरकारले त दर्ता ग¥यो ग¥यो, संघहरुले पनि वेवास्ता गर्दा समस्या आयो । तसर्थ सदस्य दिनुपूर्व नै सबैकुरा अध्ययन गर्नुपर्छ । विकृति रोक्न पहल गर्नुपर्छ । अर्कोतर्फ, सहकारीको सञ्जाल व्यवस्थापन पनि आवश्यक छ । नेफ्स्कुन नेतृत्वले केन्द्रिय संघ र प्रारम्भिक संस्था भए पुग्छ भन्दै विदेशको उदाहरण दिने गरेको छ । यो गलत कुरा हो । नेपालको भौगोलिक बनोट र वर्तमान अवस्थालाई मध्यनजर गर्दा जिल्ला तहका संघको आवश्यकता देखिन्छ ।

केन्द्रिय तहले फिल्ड कार्यालयमार्फत अधिकार सुम्पिदिनाले मात्र साकोस अभियान सबल हुँदैन । त्यसकारण सहकारी सञ्जाल व्यवस्थापन पनि व्यवस्थित तरिकाले गर्नसक्ने नेतृत्व हुनुपर्छ । अर्को कुरा, सहकारी अभियानलाई व्यवस्थित बनाउन राज्यले सहयोग नगरेको खण्डमा त्यसलाई दवाव दिनसक्ने खालको नेतृत्व चाहिन्छ । केन्द्रिय संघ एक्लैले सकेन भने अभियानसँग हातेमालो गरेर भएपनि त्यो गर्नुपथ्र्यो । एउटै व्यक्ति धेरै तहको नेतृत्वमा रहनु हुँदैन तर तल्लो तहमा काम नगरेको व्यक्तिलाई एकैपटक माथिल्लो तहको नेतृत्वमा लैजाँदा पनि उसले राम्रोसँग काम गर्न सक्दैन । विगतमा केन्द्रिय संघ र महासंघले अभियानमा नै नभएको व्यक्तिलाई सल्लाहकारको नाता जोडेर पद दिएको थियो । यसले राम्रो परिणाम ल्याउँदैन । जिल्लामा सञ्चालक भएको व्यक्ति माथिल्लो तहमा जाँदा फरक पार्दैन । चुनाव र अधिवेशनको बेलामा सक्रिय देखिने तर काम गर्न समय नदिने व्यक्तिहरुलाई नेतृत्वमा जान प्राथमिकता दिनुहुँदैन । 

भिजन दिन सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउँदा अभियान राम्रो हुन्छ

योगमाया सुवेदी,
अध्यक्ष, सुनसरी बचत तथा ऋण सहकारी संघ

आगामी पौष ७ र ८ गते नेफ्स्कुनको अधिवेशन सहितको ३२औं साधारणसभा हुन गइरहेको छ । हाम्रो संघ पनि नेफ्स्कुनमा आवद्ध छ । हाम्रो संघमा २५० संस्था आवद्ध छन् । ती संस्थाहरुले पनि साधारणसभामा भाग लिन प्रतिनिधि छनौट गरी पठाइसकेका छन् । सहकारी संस्थाको लागि अहिले निकै अप्ठ्यारो परिस्थिति छ । अप्ठ्यारो अवस्थालाई सम्बोधन गर्नसक्ने नेतृत्व यसपटक आउनुपर्छ । आफुपनि सुशासनमा बस्ने र संस्थाहरुलाई पनि सुशासनमा राखेको व्यक्ति नेतृत्वमा पुग्दा साकोस अभियानमा सुशासन कायम गर्न सकिन्छ । सहकारीको नेतृत्व राजनीतिक दलको तर्फबाट आएकाले बिग्रिएको छ । नेतृत्वमा जानेहरुले कसरी संघसंस्था सञ्चालन गरेका छन् ? सहकारी क्षेत्रमा कति योगदान गरेका छन् ती कुराको पनि मुल्यांकन गर्नुपर्छ र राम्रो भिजन भएको व्यक्तिलाई नेतृत्वमा ल्याउँदा अभियानलाई राम्रो हुन्छ । नेतृत्व चयन भइसकेपछि नेफ्स्कुनमा आवद्ध संघसंस्थाहरुको वित्तीय अवस्था कस्तो छ ? कुन तरिकाले संस्थाहरु चलेका छन् ? अनुगमन तथा निरीक्षण गर्नुप¥यो । गलत गर्ने संस्थाहरुलाई गलत भएको जानकारी गराएर सुधारको बाटो पनि देखाउनुप¥यो । ठूल्ठूला कुरा गर्ने र माथिल्लो निकायमा धेरै मान्छे जम्मा गर्ने भन्दा पनि समुदायमा रहेका र आवद्ध संस्थाहरुलाई राम्रोसँग गाइडलाइन दिन सक्ने व्यक्ति नेफ्स्कुनको नेतृत्वमा जानुपर्छ भन्ने म ठान्दछु । नीति, विधि र प्रविधिलाई नमान्दा र सहकारी मुल्यमान्यता तथा सिद्धान्तहरुलाई पालना नगरेका कारण धेरै सहकारी संस्था धराशायी भएका हुन् । कतिपयले बचत फिर्ता गर्न सकेका छैनन् । नियम पालनमा चुक्दा यो समस्या आएको हो । नीतिनियम पालनामा पनि नेतृत्वले ध्यान दिनुपर्ने हुन्छ । नेफ्स्कुनको नेतृत्वमा जाना चाहने आकांक्षीहरुले कस्तो संस्था चलाएका छन्, अभियानमा कति योगदान पु¥याएका छन् र उनीहरुको प्रष्ट भिजन बुझेर मात्र साधारण सभामा भाग लिने प्रतिनिधिहरुले नेतृत्व चयन गर्नुपर्छ ।

वर्तमान समयमा भोगिराखेको वित्तीय संकट, करका समस्या समाधान र राज्यसँग पहलपैरवी गर्दै ऐननियम कार्यान्वयनमा लैजान सक्ने नेतृत्व अबको आवश्यकता हो । राजनीतिकरण मात्र गर्ने नभई सहकारी संस्थालाई सुशासनतर्फ लैजाने नेतृत्व अब चाहिन्छ । केन्द्रमा मात्र बस्ने नभई तल्लो तहमा समेत पुगेर सहकारीको भावना बुझ्ने नेतृत्वमा आउनुपर्छ । सहकारीले बचत फिर्ता दिन नसक्ने अवस्था एकै दिनमा आएको होइन । यो समस्या शुरुवाती चरणदेखिकै हो । मनोमानी तरिकाले संस्था चलाउँदा यो अवस्था आएको हो । सहकारी क्षेत्रमा भएको विकृतिलाई न्यूनिकरण गर्दै सहकारी अभियानको गुमेको छविलाई माथि उठाउन सक्ने नेतृत्व हामीले खोजेका छौं । 

तल्लोदेखि माथिल्लो निकायसम्म सहकारी बुझेको व्यक्तिलाई चयन गर्नुपर्छ

जगदिश भट्टराई, 
अध्यक्ष, पाल्पा बचत संघ

अब आउने नेफ्स्कुनको नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहकारी अभियानलाई स्थापित गराउन सक्नुपर्छ । जसले सहकारी अभियान बुझेको छ, जसले सहकारिताको भावना बुझेको छ, सहकारीका सात सिद्धान्त बुझेको छ, तीनखम्बे अर्थनीति अन्तर्गतको सहकारी अभियानलाई बुझेको छ, त्यस्तो व्यक्ति नेतृत्व आउनुपर्छ । पार्टीले टिकट दिएको कार्यकर्ता भन्दा पनि सहकारी अभियानको नेतृत्वमा स्थापित हुन सकेको व्यक्ति आउन सक्दा मात्र साकोस अभियानले सहि गति पक्रन्छ । पार्टीको कार्यकर्ता भएर आउनेले सहकारी अभियान बुझ्दैन । हामीले सहकारीको नेता त पाउँला तर सहकारीको खास समस्या समाधान गर्न सक्दैन । तल्लोदेखि माथिल्लो निकायसम्म सहकारी बुझेको व्यक्तिलाई हामीले निर्वाचित गर्नुपर्छ । सहकारी संस्थाहरु सुशासनमा रहन नसक्दा र नियमन, अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा अहिलेको समस्या आएको हो । सहकारी अभियान आफैंमा निस्कलंक छ । सहकारीमा सदस्यले गरेको बचत सुरक्षित हुन नसकेको समस्या छ त्यसलाई समाधान गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता हो । आर्थिक र प्राविधिक रुपमा व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या आएका हुन् । यी समस्यालाई समाधान गर्नु नै अहिलेको सबैभन्दा जरुरी पक्ष भएको हुँदा सहकारी बुझेको व्यक्तिले नेफ्स्कुनको नेतृत्व गर्नुपर्छ । नेफ्स्कुनले सहकारी अभियानका हरेक कम्पोनेन्टमा काम गर्ने र वित्तीय क्षेत्रमा तलदेखि माथिसम्मको संरचना ओगटेको हुँदा राम्रो मान्छे आउनुपर्छ भन्ने मान्यता हो । प्रारम्भिक संस्थादेखि माथिसम्मको अभियान बुझेका व्यक्तिलाई हामीले नेतृत्वमा ल्याउनुपर्छ । अबको नेतृत्वले सहकारीमा समस्या भयो भन्ने नभई हिजो भएका समस्या समाधान भयो भन्ने बनाउनुपर्छ । एउटै व्यक्ति विभिन्न संघमा दोहोरो तेहरो पदमा बस्ने परम्पराको अन्त्य हुनुपर्छ । साधारणसभामा आउने प्रतिनिधिले राजनीतिलाई पोल्टोमा राखेर सहकारी अभियानलाई आत्मसात गर्दै योभन्दा अर्को अभियान छैन भन्ने अर्जुनदृष्टि लगाएर सहकारी अभियानमा भिजेको व्यक्तिलाई नेतृत्वमा पु¥याउनुपर्छ । राजनीतिक पार्टीमा म फलानो नेताको नजिक छु भनेर कोही उमेदवार बन्न आउँछ भने त्यस्तो व्यक्तिलाई नेतृत्वमा छनौट गर्नुहुँदैन । 

जिल्ला र प्रदेशका समस्यालाई बुझ्ने र समाधान दिने नेतृत्व आओस्

बसन्तप्रसाद ढकाल 
अध्यक्ष, रुपन्देही बचत संघ

नेपालभर सहकारीप्रति आम सदस्यको विश्वास घटेको छ । केहि संस्थाले गरेको बदमासीका कारण अभियानमा नै धमिलोपन सिर्जना भएको छ । त्यो परिस्थितिलाई सामना गर्न सक्ने नेतृत्व अब नेफ्स्कुनमा आउनुपर्छ । सहकारी अभियानमा देखिएको वर्तमान समस्यालाई चिर्ने र राज्यसँग सहकार्य गरेर अभियानलाई सही दिशामा लैजाने नेतृत्व अबको आवश्यकता हो । नेफ्स्कुनको नेटवर्कलाई जिल्लातहसम्म विस्तार गरी साकोसहरुलाई सहजीकरण गर्ने नेतृत्व अहिले चाहिएको छ । त्यसका साथै नेफस्कुनको काम, कर्तव्य र अधिकार के हो ? विधि र पद्धति बुझेको व्यक्तिले मात्र नेफ्स्कुनलाई नेतृत्व दिन सक्छ । 
वर्तमान नेतृत्व र कर्मचारीहरुमा जिल्ला तहलाई हेर्ने दृष्टिकोणमा केहि फरक छ । जति जिल्लातहसँग सहकार्य गर्नुपर्ने हो त्यति हुन सकेको छैन । एकातर्फ व्यस्तता र अर्कोतर्फ राजनीतिक चस्माबाट हेर्ने गरेकाले नेफ्स्कुनको दृष्टिकोणमा एकरुपता आउन सकेन । अबको नेतृत्वले यस्ता कुरा दोहो¥याउँदैन भन्नेमा हामी आशावादी छौं । सहकारी अभियान राजनीतिबाट अलग हुनुपर्छ । यसमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो मान्यता छ । सहकारी अभियानमा लामो समयदेखि लागेका र यसै क्षेत्रमा भिजेका व्यक्तिहरुलाई नेतृत्वमा लैजानुपर्छ भन्ने मेरो बुझाई छ । एउटै नेतृत्व सधैंभरी रहिरहँदा परिवर्तन नदेखिने हुँदा सहकारी बुझेका व्यक्तिहरुलाई नेतृत्व दिनुपर्छ । जिल्ला र प्रदेश तहका संघहरुले पैसा उठाएर नेफ्स्कुनलई पठाइदिएका छौं र नेफ्स्कुनका अधिकांश नेतृत्वले आफु अनुकूलका मात्र काम गरिरहने हो भने जिल्ला र प्रदेशबाट पैसा पठाउन सकिँदैन ।  नेफ्स्कुनले जिल्ला तहलाई के सुविधा दियो ? जिल्ला तहमा कुनै तालिम, गोष्ठी गर्नुप¥यो भने नेफ्स्कुनसँग एलायन्स गरेर कार्यक्रम गर्छौं । काठमाण्डौ वा प्रदेशबाट ट्रेनरहरु झिकाउँदा आएको गएको सबै शुल्क तिर्नुपर्छ । नेफ्स्कुन हाम्रो अभिभावक हो । तालिम शिक्ष किन निःशुल्क गर्न सक्दैन । पछिल्लो समय सहकारी अभियानमा धेरै समस्या आएको छ । कतिपय बचतकर्ता सडकमा पुगेका छन् । अभियानलाई सही नेतृत्व नदिएको भन्दै जिल्ला तहमा कतिपय सहकारीले सदस्यता नविकरण गर्न समेत मानेका छैनन् । उहाँहहरुमा कसरी उत्प्रेरणा भर्ने र देशभर देखिएको समस्यालाई कसरी समाधान गर्ने तथा बचतकर्तालाई कसरी रकम फिर्ता गर्ने भन्ने जस्ता समस्याको समाधान दिन सक्ने नेतृत्व अब आउनुपर्छ । 
अहिले सहकारीले पनि बैंक तथ वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्नुपरिराखेको छ । प्रतिस्पर्धी वित्तीय सेवा दिएर तल्लो तहका जनताको आर्थिक स्तर कसरी माथि उठाउन सकिन्छ ? उनीहरुलाई कसरी सबल बनाउने, नेतृत्व विकास गर्ने र सबल नागरिक बनाउने भन्नेतर्फ पनि नेतृत्वले सोच्नु जरुरी छ । आगामी साधारणसभाबाट अभियानको हितमा लामो समय क्रियाशील रहेका र सही व्यक्तिलाई नेतृत्वमा चयन गर्नुपर्छ । जिल्ला र प्रदेशका समस्यालाई पनि बुझ्ने र समाधान दिन सक्ने व्यक्ति नेतृत्वमा आओस् भन्ने मेरो चाहना छ ।