सोमबार, कार्तिक १० गते २०८३

सहकारी सरकारको प्राथमिकतामा : रजिष्ट्रार घिमिरे 


पौष १, २०८० आइतबार
सहकारी सरकारको प्राथमिकतामा : रजिष्ट्रार घिमिरे 


सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १३औ बार्षिक साधारण सभामा बोल्दै उनले संविधानले नै तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा लिएको र सहकारीमार्फत समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकाले  सरकारको प्राथमिकतामा सहकारी परेको उनको भनाई छ ।

सहकारी ऐन, नियम र विश्वव्यापी सिद्धान्तलाई आत्मसात गर्दै सरकारले दिएको प्राथमिकता अनुरुप काम गर्न अभियान लाग्नुपर्नेमा उनले जोड दिए । सहकारीलाई समाजको आदर्श संस्थाको रुपमा लिएकाले तत्काल नाफा कमाउने भन्दा पनि दिगो समाज निर्माणको विषयमा सोच्नु पर्ने उनको भनाई छ। आदर्श संस्था भएकाले आदर्श व्यक्ति भएर अभियानलाई अगाडी बढाउनु पर्ने रजिष्ट्रार घिमिरेले बताए । कानुन विपरित निर्देशन जारी गर्ने आधिकार विभागलाइ नभएको भन्दै उनले प्रचलित ऐन नियम र कानुनका आधारमा मात्रै निर्देशन जारी गरिने उनले बताए ।

श्वेतपत्र जारी गर्दा संस्थाको स्ट्रेन्थ समेत समाजमा बलियो बनाउने भएकाले विभागले दिएको समय भित्र सबै संस्थाले श्वेतपत्र जारी गरिसक्न उनले सुझाए । २/४ वटा संस्थाले गरेको गल्तीलाई राज्य र अभियानले समयमा चिर्न नसक्दा अहिले जटिल परिस्थिति सृजना भएको उनको बुझाई छ। ‘जोखिम देखेपछि जुनसुकै देशका मानिस पनि सचेत हुन्छन् र बचत फिर्ताको लागि चासो दिन्छ’ उनले भने, यो स्वाभाविक प्रक्रिया हो । तर अर्थतन्त्रमा आएको संकुचनका कारण व्यापार व्यवसायमा  छाएको मन्दी र संस्थाहरुले गरेको ऋण लगानी उठ्न नसक्दा पनि यो समस्या बढेको हो।’ नियामक निकायले सबैलाई खुशी बनाउन नसक्ने भन्दै उनले कानुनको अक्षरस पालना गराउनु आफुहरुको दायित्व भएको प्रष्ट पारे।