सोमबार, कार्तिक १० गते २०८३

श्वेतपत्रमार्फत संस्थाकाे यथार्थ जानकारी गराए सदस्यहरूकाे विश्वास बढ्छः सचिव दुवाडी


मंसिर २९, २०८० शुक्रबार
श्वेतपत्रमार्फत संस्थाकाे यथार्थ जानकारी गराए सदस्यहरूकाे विश्वास बढ्छः सचिव दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले श्वेतपत्र जारी गरेर सहकारी संस्थाहरूले यथार्थ जानकारी सदस्यलाइ गराए विश्वासकाे वातावरण बढ्ने बताएका छन् । अपारदर्शिता रहिहरे अविश्वास बढ्ने भन्दै सबै संस्थाहरूलाइ श्वेतपत्र जारी गर्न अाग्रह गरे । 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले पारदर्शितालाइ कायम गरेर सहकारी मुल्यमान्यता र सिद्धान्तलाइ पालना गरेकाे भए अहिलेकाे विकराल अवस्था ननिम्तिने उनकाे धारणा राखे । 

‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमाथि अविश्वासको वातावरण सिर्जना भयो’, उनले भने, ‘केहि सहकारीका सञ्चालक र लेखा सुपरीवेक्षण समिति नियमनमा बाँधिन नसक्दा समस्या आयो ।’

सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्ने उनले बताए । ‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अब लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो’, उनले भने, ‘अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।’

सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको समेत सचिव दुवाडीले स्पष्ट पारे । स्वंयम सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीको भनाई थियो ।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताए । उनका अनुसार पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठूलो संटक सृजना भएको हो । यो समस्या समाधानको लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्ने धारणा राखे ।

‘समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक छ । हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुनसक्छ’, उनले भने, ‘ती कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने चुनौती सबैमा छ । सदस्यहरुमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व हामी सबैको हो ।’

यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी सुधारमा तीनै तहका सरकार, अभियानसँगै सञ्चार माध्यमको पनि भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले हाल संकटका बीच सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि ऐना जस्तै छर्लङ्ग हुनेगरि समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सञ्चार माध्यमले तथ्यपरक ढंगले समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे । उनले पनि अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं, जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोला, सीजेएनका संस्थापक अध्यक्ष यादव हुँमागाईं, पूर्व अध्यक्ष डिल्लीप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष खिलानाथ दाहालले शुभकामना मन्तव्य राखेका थिए ।