बागमती प्रदेश सहकारी संघको आयोेजनामा आजबाट ललितपुरमा ‘सहकारी नेतृत्व विकास’ तालिम सुरु भएको छ । बागमती प्रदेश संस्कृति ,पर्यटन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो ।
तालिममा बागमती प्रदेशका १३ जिल्लाका सहकारीकर्मीहरुको सहभागिता रहेको छ। सोही मन्त्रालयका मन्त्री पुकार मर्हजनले तालिमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश संस्कृति ,पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालले अभियान, सदस्य र नियामक निकायको साझा पहलबाट मात्रै सहकारीको समस्या समाधान गर्न सकिने बताए । उनले काठमाडौमा छिट्टै सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिने जानकारी दिँदै यसका लागि बागमती सरकारबाट दरबन्दी स्वीकृत गरिसकेको समेत बताए ।
काठमाण्डौ उपत्यकामा सहकारीको चाप बढी रहेकाे र कार्यालय स्थापना पछि नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । दिगो अर्थतन्त्र निमार्णमा सहकारीको आवश्यकता महसुश गरी सरकारले यसलाई प्राथमिकता दिएको भए पनि पछिल्लो समय यस क्षेत्रमा समस्या बढेर गएको उनको भनाई छ । आन्तरिक र बाह्य दुवै कारणले सहकारीमा समस्या आएको भन्दै सचिव रिजालले भुकम्पपछि विश्वव्यापी रुपमा आएको कोराना भाइरस र मन्दीका आर्थिक क्रियाकलापमा कमी आएकाले त्यसको प्रभाव सहकारीमा समेत परेको बताए।
तालिममा विद्यमान समस्याका बारेमा पनि छलफल गर्न, सामान्य तथा असामान्य अवस्थामा सहकारीको नेतृत्वको कस्तो हुनुपर्ने हो र अहिले देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ, यसमा नियामक निकायले कसरी सघाउन सक्छ भन्ने जस्ता विषयमा पनि छलफल गर्न उनको आग्रह छ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले नेतृत्वमा सहकारी सञ्चालन गर्ने क्षमता र सिप नहुँदा सहकारी संस्थामा समस्या आएको बताए । तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढंगले सञ्चालन गर्न टेवा पुग्ने उनको विश्वास छ ।
कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बाेर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीमा नेतृत्व विकास गरी इमान्दारी र पारदर्शी रुपमा सहकारी संस्था सञ्चालन गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे । सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा उनले जोड दिए ।
संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले ४ दिनसम्म चल्ने तालिममा ११ जना प्रशिक्षकबाट १६ वटा विषयमा प्रशिक्षण दिइने जानकारी दिए । तालिम राष्ट्रियस्तको भएको भन्दै उनले सहभागीहरुले यसबाट ज्ञान र सीप दुवै हासिल गर्न सक्ने जनाए । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य राख्दै सहकारीमा नेतृत्व विकास गरी अभियानलाई थप उचाइमा लैजान तालिम सहयोगी हुने अपेक्षा गरे।
नेपालपत्र संवाददाता