सोमबार, कार्तिक १० गते २०८३

गलत गर्नेलाई कारवाही गरेर सहकारीप्रति सदस्यको विश्वास बढाउन मन्त्रालयले काम गर्दै छः मन्त्री महर्जन


मंसिर २५, २०८० सोमबार
गलत गर्नेलाई कारवाही गरेर सहकारीप्रति सदस्यको विश्वास  बढाउन मन्त्रालयले काम गर्दै छः मन्त्री महर्जन

बागमती प्रदेश संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री पुकार मर्हजनले संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठनको प्रक्रिया अगाडी बढाएको बताएका छन् । बागमती प्रदेश सरकारको वित्तीय सहयोग र बागमती प्रदेश सहकारी संघको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको सहकारी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

कतिपय सहकारी संस्थाले सदस्यको बचत अपचलन गरेर सञ्चालकहरु सम्पर्कविहिन भएको र केही सञ्चालकहरु विदेश समेत पलायन भएको भन्दै उनले गलत गर्ने सहकारीलाई कारवाही गर्न मन्त्रालयले उक्त समिति गठनको प्रक्रिया अगाडी बढाएको बताए । सो अवसरमा उनले प्रदेश सहकारी ऐन संशाेधनको  प्रक्रिया अगाडी बढाएको र सहभागीहरुले पनि ऐन संशाेधनका लागि आफ्नो सुझाव दिन आग्रह गरे । गलत गर्ने सहकारी संस्थालाई कारवाही नगरेसम्म सहकारीको समस्या समाधान नहुने र यसले सहकारीप्रति सकरात्मक वातावरण सृजना नगर्ने भएकाले सदस्यको बचत दुरुपयोग गर्ने सहकारी संस्थालाई कानुनी दायरामा ल्याइने  समेत उनले प्रष्ट पारे ।

गलत कार्यलाई निरुसाहित पार्न नसके सबै सहकारीप्रति सदस्यको विश्वास टुट्ने उनको भनाई छ । गलत गर्ने संस्थालाई सरकारले कारवाही गर्ने रहेछ भन्ने सन्देश दिएर सहकारीप्रति गुमेको विश्वास स्थापित गर्न आफुहहरु लागि परेको उनको भनाई छ। ‘अहिले सदस्यहरुमा सबै सहकारी नराम्रा छन् र मेरो बचत फिर्ता हुँदैन कि भन्न डर  छ’ उनले भने ,‘गलत गर्ने सहकारीलाई कारवाही गरेर राम्रा सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्छ । त्यस्ता संस्थालाई कानुनी दायरामा ल्याउने नसके सदस्यमा सरकार रहेको अनुभव हुँदैन र यसले सिंगो अभियानलाई नै धक्का पुग्छ ।’

विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीले सहकारी क्षेत्रलाई अप्ठ्यारोमा पारेको भए पनि केही सहकारीका कारण सदस्य र सहकारीबीच अविश्वासको खाडल बढेको र यी दुईबीचको अविश्वासलाई कम गर्न सके सहकारीलाई पहिलाकै अवस्थामा फर्काउन सकिने उनको भनाई छ । अर्थतन्त्रमा सामान्य सुधार देखिन थालेकाले मुलकमा वित्तीय संकटको अन्त्य भई सहकारी अभियानमा पनि सुधार हुने उनको विश्वास छ । चार दिनको तालिमबाट   सिप र क्षमता  विकास गरी अभियानलाई थप उचाइमा लैजान सहभागीहरुलाई उनको आग्रह छ ।  कार्यक्रम संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्वमा भएको थियो ।