सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कुनको ३२औं साधारण सभा, सञ्चालक बन्न के छ व्यवस्था


मंसिर १९, २०८० मंगलबार
नेफ्स्कुनको ३२औं साधारण सभा, सञ्चालक बन्न के छ व्यवस्था


नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३२औं वार्षिक साधारण सभाको मिति नजिकिँदै जाँदा संघको सञ्चालक बन्न चाहने आकांक्षीहरु बढ्दै गएका छन् ।

आगामी पौष ७ र ८ गते हुने साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गर्नेछ । साधारण सभाले १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गर्दैछ ।

संघको विनियम अनुसार एक जना महिला उपाध्यक्ष वा बरिष्ठ उपाध्यक्ष अनिवार्य रहनुपर्ने व्यवस्था रहेको छ भने संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित १९ जना सदस्य सञ्चालक समितिमा रहनेछन् ।

संघको सञ्चालक हुनका लागि प्रारम्भिक संस्थामा कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको हुनुपर्नेछ । त्यसैगरी नेफ्स्कुनको पदाधिकारी वा लेखा सुपरीवेक्षण समितिको संयोजक हुनका लागि नेफ्स्कुनको सञ्चालकमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी अन्य कुनै पनि सहकारी संस्थाको सञ्चालक नभएको, कालो सूचिमा नपरेको वा कालो सूचिमा परेको भए उक्त सूचिबाट हटी सफाई पाएको कम्तीमा ३ महिना पूरा भएको र सहकारी संस्थाबाट लिएको ऋणको भाका ननाघेको हुनुपर्ने व्यवस्था नेफ्स्कुनको निर्वाचन कार्यविधिमा उल्लेख छ ।

मुलुकभरका बचत तथा ऋण सहकारी संस्थाहरुको एकमात्र छाता संघ भएकाले संघको सञ्चालक हुन धेरै जनाले आकांक्षा देखाएका छन् । राजनीतिक आस्था र भागबण्डाका आधारमा संघको नेतृत्व चयन गर्नुभन्दा पनि अभियानमा भिजेका र सफल रुपमा संस्था सञ्चालन गरेका व्यक्तिहरु नेतृत्व तहमा पुगे साकोस अभियानले सार्थकता पाउने सहकारीकर्मीहरुको अपेक्षा रहेको छ ।