श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमा रिजालको सभापतित्वमा भएको कर्यक्रमको प्रमुख अतिथि लुमन्ती आवासका लागि सहयोगी समुहकी उपाध्यक्ष गुजेश्वरी श्रेष्ठ रहेकी थिइन् । त्यसैगरी साधारण सभाको विशेष अतिथिमा महिला मञ्चकी सदस्य लक्ष्मीतारा डंगोल थिइन् भने अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।
सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलले सहकारी सम्बन्धी विशेष प्रस्तुति दिएका थिए । सभामा अध्यक्ष रिजालले ‘उद्यमी व्यवसायी महिलाहरुको आार्थिक उन्नतिको केन्द्र, सुशासनयुक्त सहकारी संस्था’ भन्ने उदेश्यका साथ संस्था अगाडि बढेको बताइन् । २०६५ सालमा २ लाख ९ हजार पुँजीबाट सुरु भएको संस्थाको १५औं साधारण सभासम्म आइपुग्दा उल्लेख्य प्रगति गर्न सकेको उनले जनाइन् ।
संस्थालाई प्रविधियुक्त बनाई सदस्यहलाई सहज रुपमा वित्तीय सेवा दिने उदेश्यका साथ मोबाइल बैकिङ, क्यु आर कोड जस्ता सेवाहरु सञ्चालनमा ल्याइएको अध्यक्ष रिजालले जानकारी दिइन् । मुलुकमा आएको आर्थिक मन्दीका बीचमा पनि संस्थाले तरलता लगायतका कुरालाई सही ढंगले व्यवस्थापन गरी सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्याउँदै आएको उनले जनाइन् । सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै विभिन्न रणनीतिहरुलाई अवलम्बन गर्दै संस्थालाई सुरक्षित र सबल रुपमा अगाडि बढाइएको उनले सभामा जानकारी दिइन् ।

संस्थाकी सचिव माया कोइरालाले आर्थिक बर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्य राहत कार्यक्रम अन्तर्गत सदस्यहरुको मृत्यु हुँदा परिवारका आश्रित सदस्यलाई आर्थिक सहयोग प्रदान गर्दै आएको बताइन् । त्यसैगरी सदस्यहरु विरामी भई उपचार गराएमा स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग र सुत्केरी भत्ता समेत प्रदान गर्दै आएको उनको भनाई छ । संस्थाले यस आर्थिक बर्षमा सदस्य वृद्धिका लागि समुदाय केन्द्रित शिक्षा तथा तालिम सञ्चालन गर्ने, बचत र ऋण योजनाको बारेमा सदस्यलाई प्रभावकारी तालिम दिने, ऋण सदुपयोगका बारेमा सचेतना अभिवृद्धि गर्ने, सीपमुलक तालिम प्रदान गरी सदस्यलाई उद्यमशील बनाउने, स्वास्थ्य सचेतना शिक्षा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने र न्युन आय भएका सदस्यहरुका लागि लुमन्तीसँगको सहकार्यमा घर निमार्ण गर्ने योजना रहेको सभामा उनले जानकारी दिइन् ।
संस्थाकी कोषाध्यक्ष मेनुका नेपालले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै असार मसान्तसम्म शेयर पुँजी २ करोड ९५ लाख, बचत संकलन १९ करोड ११ लाख ९३ हजार र ऋण लगानी १९ करोड ९७ लाख २० हजार रहेको जानकारी दिइन् । संस्थामा गत असार मसान्तसम्म ६ करोड ३६ लाख ९७ हजार तरलता रकम रहेको उनले सभामा उल्लेख गरिन् । संस्थाको जगेडा कोषमा १ करोड ९१ लाख १८ हजार र अन्य कोषमा १ करोड ६४ लाख ८१ हजार रहेको छ । आ.व. २०६५/६६ मा १४७ सदस्य रहेको संस्थाको गत असार मसान्तमा १ हजार ४८६ सदस्य पुगेका छन् । संस्थाले गत आ.व.मा ७८ लाख १६ हजार खुद मुनाफा आर्जन गरेको छ भने संस्थाको कुल वासलात २६ करोड माथि पुगेको छ ।
