सोमबार, कार्तिक १० गते २०८३

ऐन कार्यान्वयनमा सहकारी विभागको अग्रसरता, एक व्यक्ति एक पद लागु गर्न निर्देशन  


मंसिर १२, २०८० मंगलबार
ऐन कार्यान्वयनमा सहकारी विभागको अग्रसरता, एक व्यक्ति एक पद लागु गर्न निर्देशन  


सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोराे पदमा बस्न नपाउने भन्दै सहकारी विभागले एक सूचना जारी गरेको छ ।

विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको छ । यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए । 

मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा  उल्लेख  छ ।

अहिले एकै ब्यक्ति प्रारम्भिक दखि  विषयगत जिल्ला संघ, प्रदेश  र केन्द्रीय संघमा सञ्चालक रहेका छन्। यही पाैष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हुन गइरहेको छ। उक्त साधारण सभामा पनि यस अघि प्रारम्भिक देखि विभिन्न संघको सञ्चालक रहेकाहरुले उम्मेदवारी दिने जनाएका थिए। ऐनमा भएकाे एक व्यक्ति एक पदको अवधारणा पूर्णरूपमा लागु भएमा सहकारी क्षेत्रमा सुधार आउने आशा धेरैको छ।

Nefscun Letter.jpg