सोमबार, कार्तिक १० गते २०८३

महाकाली र श्री हर्षित सहकारीले एकीकरणका लागि गरे संयुक्त साधारणसभा


मंसिर १०, २०८० आइतबार
महाकाली र श्री हर्षित सहकारीले एकीकरणका लागि गरे संयुक्त साधारणसभा

 

पछिल्लो समय सहकारी क्षेत्रमा एकीकरणको लहर चलेको छ । संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा सहकारी सञ्चालन गर्नुपर्छ भन्ने अवधारणा अगाडि बढेकाले एक पछि अर्को गरी सहकारी संस्थाहरु एकीकरणमा  जान थालेका हुन् । धेरै सहकारी संस्था हुँदा सेवामा गुणस्तरीयता र प्रभावकारिता आउन नसकेको भन्दै  बजारमा सहकारी संस्थाको संख्या घटाउनु पर्ने बहस सुरु भएको छ। राष्ट्रिय सहकारी महासंघले पनि ‘भिजन २०३०’ सार्वजनिक गर्दै हाल भएको ३० हजार सहकारीलाई एकीकरणमार्फत् घटाएर १० हजारमा ल्याउने लक्ष्य अघि सारेको छ। सोही अनुरुप सहकारी संस्थाहरु स्वःस्फूर्त रुपमा एकीकरणमा जान लागेका छन् ।

यसै क्रममा काठमाडौं महानगरपालिका वडा ३२ पुरानो सिनामंगलमा रहेको श्री हर्षित बचत तथा सहकारी संस्था र कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९, काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्थाले संयुक्त साधारणसभा गरेका छन् । यस अघि दुवै सहकारी संस्थाले बार्षिक साधारण सभामार्फत एकीकरणमा जाने  प्रस्ताव पारित गरेका थिए । सोही अनुरुप दुवै सहकारी संस्थाले एकीकरणमा जानका लागि हिजो संयुक्त साधारण सभाको आयोजना गरेका हुन् ।

संयुक्त साधारण सभाले महाकाली साकोसका अध्यक्ष बालकुमार बास्तोलाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।  समितिको  उपाध्यक्षमा बिना पराजुली, सचिवमा हरिशरण सिवाकोटी, कोषाध्यक्षमा तिलक बहादुर खड्का र सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहेका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिनोद पराजुली र सदस्यहरुमा कमल नेपाल एंव लाल बहादुर बस्नेत रहेका छन् ।

यसै महिना भित्र एकीकरण प्रक्रिया पुरा गरी संयुक्त रुपमा कारोवार गर्ने तयारी रहेको मर्जर कार्यदलका संयोजक बालकुमार बास्तोलाले बताए । एकीकरण पछि संस्थाको नाम महाहर्षित बचत तथा ऋण सहकारी संस्था रहने उनले जानकारी दिए । एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख पुग्ने छ भने शेयर पुँजी ५ करोड ६० लाख हुनेछ । त्यसैगरी बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुग्ने उनले बताए ।

९५ लाख जगेडा कोष रहेको उक्त संस्थाको ४ आना जग्गामा बनेको सुविधा सम्पन्न आफ्नै कार्यालय रहेको छ । वित्तीय संकटका बीचमा पनि संस्थामा पर्याप्त तरलता रहेको छ । संस्थामा हाल ३ करोड २५ लाख तरलता रकम छ । एकीकरण पछि संस्थामा ६ सय ६६ सदस्य पुग्ने छन्। हर्षित २०६४ सालमा र महाकाली २०७७ सालमा स्थापना भएको संस्था हो । महाकालीको १३ करोड कारोबार रहेको छ भने हर्षित सहकारीको कारोबार ५ करोड ६३ लाख रहेको छ ।

makali harshit.jpg

एकीकरण पछि संस्थाको मुख्य  कार्यालय मनोहरा बस्ती पुरानो सिनामगंल, पेप्सीकोलामा रहने छ भने सेवा केन्द्र मुलपानीमा सञ्चालन हुनेछ । साधारण सभामा कुल सदस्य संख्याकाे ८६ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । सहकारी मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अगाडी बढेको उक्त संस्थाले ‘समृद्ध जीवनका लागि सहकारी’  भन्ने मुल नारा तय गरेको छ । सुशासन, पारदर्शिता र सदस्यको समृद्धि नै संस्थाको मुल लक्ष्य रहेको बास्तोलाले बताए । दुइ सहकारी संस्थाबीच एकीकरण गरी समुदायमा नमूनायाेग्य संस्थाकाे रूपमा स्थापित गर्ने लक्ष्य राखेकाे उनले बताए । एकीकरण पछि संस्था सबल र सक्षम भइ सदस्यहरूकाे आर्थिक सामाजिक स्तर उकास्न थप टेवा पुग्ने विश्वास उनकाे छ । 

सभामा संस्थाका पुर्व अध्यक्ष देव प्रसाद गुँरागाई, जिल्ला सहकारी संघ काठमाडौका  सञ्चालक हेम बहादुर कार्की र नेपाल निर्माण व्यवसायी संघ काठमाडौका अध्यक्ष अचुतम कटुवालले शुभकामनना मन्तव्य राखेका थिए । सभामा शुभकामना मन्तव्य राख्दै समुदाय र सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्दै यस क्षेत्रकै अब्बल संस्थाको रुपमा स्थापित गर्न उनीहरुले सुझाए ।

बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेका व्यक्ति, उच्च व्यवस्थापन, डाक्टर, इन्जिनियर, व्यवसायी लगायत अर्थशास्त्रका ज्ञाताहरु र समुदायका लब्ध प्रतिष्ठित  व्यक्तिहरुको संस्थामा आवद्धता रहेको छ । सभामा हर्षित साकोसका अध्यक्ष खडानन्द ढकालले स्वागत मन्तव्य राखेका थिए।

mahakali sahayak.jpg