भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै बिजुक्छेंले राज्य संघीयतामा गइसकेपछि केन्द्रीकृत नीति नियम लाद्नु नहुने र सहकारीमा एक गाउँको आवश्यकता अर्को गाउँसंग फरक हुने भएकोले केन्द्रीकृत नीतिले काम नगर्ने विचार व्यक्त गरे । बैंक वित्तीय संस्था भन्दा सहकारी पृथक हुुनुपर्नेमा जोड दिदैँ उनले सहकारी धनी वर्गका लागि नभइ किसान, न्यून आयवर्गको उत्थानको लागि हुनुपर्ने औंल्याए ।
सहकारीले नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनका लागि कार्य गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि सहकारीले उत्पादनमुलक उद्योग, कृषि, उपभोक्ता पसल, रोजगारी सिर्जना लगायतको क्षेत्रमा ध्यान दिनुपर्ने कुरा उनको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य टेक प्रसाद चौलागाईले सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताए । उनले समस्यालाई अवसरको रुपमा लिइ संघसंस्थालाई बलियो बनाउन सहकारी अभियान एकमत हुनुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीका योगदानहरु संस्थागत हुन नसक्दा सहकारी अभियानका ऐजण्डाहरु छाँयामा परेको उल्लेख गरे । सहकारीको दिशा स्पष्ट हुँदाहुदैँ पनि भ्रमित गर्ने कार्य भइरहेका भन्दै ती भ्रम चिर्न र सहकारी अभियानलाई मजबुत गर्न सहकारी संघ संस्थाहरुको सञ्जाल व्यवस्थापन अपरिहार्य भइसकेको उनले जनाए ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव प्रसाद सापकोटाले सहकारीमा देखिएका समस्या तुलनात्मक रुपमा भक्तपुरमा कम रहेको र संघले सदस्य संस्थालाई सुशासनमा राख्न सक्षम रहेको बताए । सहकारी संस्थाका समस्याहरु समाधान गर्न अनुगमनलाई जोड दिनुपर्ने विचार उनको थियो ।
संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै सहकारी संस्थामा देखिएका विकृतिहरुको दिर्घकालीन समाधानका लागि संघहरु लाग्नुपर्ने विचार व्यक्त गरे ।
सभाका सभापति तथा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताए । सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्ने कुरा उनले बताए । संघहरुले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा अभियान शुद्धिकरण हुने उनले बताए ।
संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिँदैं सहकारीमा सुशासनको पालना संघहरुबाटै शुरु गर्नुपर्ने धारणा राखे ।
सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश दिने प्रस्ताव र संरक्षित पुँजी फिर्ता दिने प्रस्ताव पेश गरे । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७९।८० को वित्तीय प्रगति प्रतिवेदन पेश गरे । सभाबाट आ.व.२०७९।८० मा २ अर्व २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०८०।८१ मा संघको वासलात २ अर्व ४५ करोड ५ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व.२०७९।८० को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण समेत गरिएको थियो ।
सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट १६१ जना प्रतिनिधि, ८ जना अतिथि, १६ जना पर्यवक्षक र ९ जना कर्मचारी गरीे जम्मा १९४ जनाको उपस्थिति रहेको थियो । सभाको संचालन संघका संचालक काजी बहादुर पञ्चले गर्नु भएको थियो ।