सोमबार, कार्तिक १० गते २०८३

संचित सहकारीको १४ औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति ६२ करोड माथी 


कार्तिक २१, २०८० मंगलबार
संचित सहकारीको १४ औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति ६२ करोड माथी 


भक्तपुरको भुलाँचामा रहेको संचित बचत तथा ऋण सहकारी संस्थाले १४ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष  योगेन्द्र बहादुर खर्बुजाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथ ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु र विशिष्ट अतिथिमा इतिहासविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ रहेका थिए ।

सभाका प्रमुख अतिथि लाखाजुले सहकारीमा सदस्यले जम्मा गरेको बचत सञ्चालकहरुले आफु खुशी सञ्चालन गर्न नपाईने भएता पनि कतिपय सहकारीका सञ्चालकले सदस्यको बचत आफुखुशी सञ्चालन गर्दा अहिले समस्या आएको बताए ।  न्युन आय भएकाहरुका लागि सहकारी आवश्यक भएको भए पनि सहकारी आवश्यक नभएका व्यक्तिहरु यस क्षेत्रमा  प्रवेश गर्दा समस्या आएको उनले बताए ।  कुल बचतमा नियमित बचतको हिंसा १० प्रतिशत माथी रहेका संस्था राम्रो हुने उनले जनाए । 

सहकारीको बचत  सदस्यलाई जानकारी नै नदिई घर जग्गा जस्ता क्षेत्रमा लगानी गरेकाले  कतिपय संस्था अहिले   समस्या आएको उनको भनाई छ । सहकारी संस्थाका केही सञ्चालकहरुले गरेको वदमासीले सहकारीप्रति समाजमा नकरात्मक प्रभाव परेको उनले बताए । सहकारी सदस्यका लागि हुनु पर्ने हो तर केही सहकारीका सञ्चालकले संस्थाको रकम दुरुपयोग गरेकाले ती  संस्थाहरु मात्र समस्यामा रहेको उनले बताए । सभामा संस्थाका अध्यक्ष खर्बुजाले मन्तव्य राख्दै  गैर समुदायमा आधारित मुल्य, मान्यता  र सिद्धान्त बाहिर गएर सञ्चालन भएका  सहकारी संस्थाहरुमा मात्र समस्या आएको बताए ।भक्तपुर नगर भित्र अन्य क्षेत्रमा जस्तो समस्याग्रस्त सहकारी कम रहेको र समुदायमा आधारित भई सदस्य केन्द्रीत वित्तीय कारोवार गर्ने संस्थामा मात्र सदस्य बनेर कारोवार गर्न  उनले जोड दिए । समुदायमा आधारित भएर नीति, विधि र प्रविधिलाई आत्मसात गरी विभिन्न सामाजिक कार्य गर्दै अगाडी बढेका सहकारीमा समस्या नआउने उनको भनाई छ ।

398126116_1756668654779724_3232733266769203793_n.jpg

संस्थाले सदस्यहरुलाई लक्षित गर्दै विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रक्तदान, स्वास्थ्य शिविर तथा निः शुल्क औषधी वितरण जस्ता गतिविधि सञ्चालन गर्ने उनले सभामा जानकारी दिए । संस्थाका सचिव न्युटनप्रसाद सुवालले आर्थिक बर्ष २०७९÷८० बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले यस आ.ब.मा नेतृत्व विकास तालिम,समिति तथा उपसमितिहरुको क्षमता अभिवृद्धि तालिम, बाल सदस्य प्रोत्साहन कार्यक्रम ,स्वास्थ्य शिविर , सिपमुलक तालिम र सहकारी अवलोकन भ्रमण जस्ता कार्यक्रम गरिने उनले  सभामा जानकारी दिए । संस्थाकी कोषाध्यक्ष सरस्वती हाकुदुवालले आर्थिक बर्ष २०७९÷८० को  आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीले व्यापार व्यसाय तथा आर्थिक क्रियाकलापमा कमी आउँदा त्यसको प्रभाव सहकारीमा पनि परेको बताईन् । संस्थाको गत असार मसान्तसम्म कुल सम्पत्ति ६२ करोड ५१ लाख पुगेको उनले सभामा जानकारी दिईन् ।

 त्यसैगरी संस्थाको शेयर पुँजी २ करोड ९५ लाख ,  जगेडा कोष १ करोड ५२ लाख, अन्य कोषहरु ३ करोड , बचत संकलन ४२ करोड ९० लाख १६ हजार  र ऋण लगानी ४८ करोड ६० लाख रहेको छ । संस्थामा ३ हजार २०३ जना सदस्य आवद्ध रहेका छन् । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक पुजन कर्माचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई सुदृढ बनाउन नियमित बचत गर्न विशेष पहल गर्न , निस्कृय सदस्यहरुको पहिचान गरी सक्रिय बनाउन र सदस्यहरुलाई बढी भन्दा बढी मोबाईल एप्पको प्रयोग  गरी अनलाइन पेमेन्ट सिष्टम प्रयोगमा ल्याउन प्रोत्साहन दिन सुझाव दिए । 

398176094_1756668698113053_5125716209362800358_n.jpg