सोमबार, कार्तिक १० गते २०८३

सामुदायिक सहकारीको साधारण सभा सम्पन्न, थप ४ संस्थासँग एकीकरण गर्ने 

आश्विन २९, २०८० सोमबार
सामुदायिक सहकारीको साधारण सभा सम्पन्न, थप ४ संस्थासँग एकीकरण गर्ने 

 पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले थप ४ वटा सहकारी संस्थासँग एकीकरण गर्ने निर्णय गरेको छ । संस्थाको २९औं बार्षिक साधारणसभाले बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौती स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था, बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गर्ने प्रस्ताव पारित गरेको हो ।


यसअघि १० वटा सहकारी संस्थासँग एकीकरण सम्पन्न भैसकेको छ । साधारणसभाले १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको संस्थाका अध्यक्ष प्रकाश वञ्जाराले जानकारी दिए ।

संस्थाले एकै दिनमा समान कार्यसूचिमा ७ स्थानमा एकाई साधारण सभा सम्पन्न गरेको थियो । सातवटै एकाईका साधारण सभाहरुमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमिति, विषयगत उपसमितिहहरु र कर्मचारीहरुमा जिम्मेवारी विभाजन गरीसाधारण सभाका एजेण्डाहरु उपर छलफल गर्दै निर्णयहरु गरिएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए ।

सहकारी प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आर्थिक बर्ष ०७९/०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ । साधारण सभाको दिनसम्म संस्थामा आबद्ध शेयर सदस्य ४५५३६ जना मध्ये २९८२२ जना ६५.९ प्रतिशत शेयर सदस्यको उपस्थितिमा सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

मुख्य कार्यालय पनौतीमा भएको कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा रहेको उल्लेख गर्नुुहुँदै संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लैजाँदै गर्दा नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका पुर्याउन सफल हुन सकोस् भनि शुभकामना दिए । सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिन अनुरोध गरे ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगाल, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहाल, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिम बहादुर के सी, पनौती वडा नं ४ का अध्यक्ष दिपक दाहाल, ओम जगतगुरु शंकर सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव रामहरी दाहाल लगायतले सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले थालेको एकिकरणले सहकारी अभियानलाई थप सहयोग पुगेको तर्क गरे ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा .शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो भने मेरो भ्वाइस यूनिभर्समा गायन प्रतियोगितामा सेकेण्ड रनर अप भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको बताउँदै संस्थाले सदस्यको व्यवसायलाई र आर्थिक सामाजिक स्तरोन्नतीका लागि आवश्यक वस्तु तथा सेवालाई कार्यक्षेत्र भित्रका ४ वटै जिल्ला र काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने बर्ता । साथै एकीकरण अभियानलाई सुरक्षित र दिगो हुने हदसम्म निरन्तरता दिने बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा लगायतले सहकारीको एकिकरण अभियानमा सघाउने सबैलाई आभार प्रकट गरे ।