काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ मा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षता र काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुरेन्द्रप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष श्रेष्ठले संस्थाले हालसम्म आर्जन गरेका उपलब्धीहरु सदस्यको विश्वासको परिणाम भएको भन्दै आर्थिक मन्दीका बीचमा पनि वित्तीय कारोबार सहजताका साथ अघि बढाउने सकेको बताए ।
संस्थाका सचिव सुन्दर तामाङले आ.व.२०७९।०८० वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष सुनील सापकोटाले आ.व.२०७९।०८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाबाट लिएको ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गरे सदस्यहरुले आफ्नो आयआर्जन वृद्धि गर्न सक्ने बताए ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्म १ करोड १५ लाख ६८ हजार शेयरपुँजी, १३ करोड ६४ लाख बचत संकलन र १६ करोड ४१ लाख ऋण लगानी गरी कुल सम्पत्ति १९ करोड पुर्याउन सफल भएको उनले बताए । संस्थामा सो अवधिमा २७ लाख १८ हजार खुद बचत गर्न सफल भएको छ । संस्थामा ११०० सदस्य आवद्ध रहेका छन् ।
संस्थाले सदस्यको मृत्यु हुँदा मृत्यु राहतकोषबाट आश्रित परिवारलाई सहयोग गर्दै आएको छ । सभामा ज्येष्ठ सदस्य, बाल सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, सफल युवा व्यवसायी तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

नेपालपत्र संवाददाता