सोमबार, कार्तिक १० गते २०८३

आइडियल सहकारी संस्थाको २४ औं साधारण सभाले १८ प्रतिशत लाभांश पारित

आश्विन २८, २०८० आइतबार
आइडियल सहकारी संस्थाको २४ औं साधारण सभाले १८ प्रतिशत लाभांश पारित


राजविराज,आइडियल सहकारी संस्था लिमिटेड, राजविराजले आफ्ना शेयरधनी सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाको २४औं बार्षिक साधारण सभामा अध्यक्ष गणेश कुमार आशले सो घोषणा गरेका हुन् । संस्थाले गत आर्थिक बर्ष २०७९र०८० मा ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ऋण लगानी गरेको छ । चालु आर्थिक बर्षमा एक अर्ब ३ करोड ८ लाख ४६ हजार ५३३ रुपैयाँ निक्षेप संकलन गर्ने र ९७ करोड ६४ लाख १५ हजार ८२९ रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखेको संस्थाका उपाध्यक्ष विजयानन्द झाले जानकारी दिए ।

संस्थाले गत आर्थिक बर्षमा कूल १८ करोड ९२ लाख १५ हजार ४८० रुपैयाँ आम्दानी गरेकोमा वितरणयोग्य खुद बचत भने ४ करोड ४७ लाख ४९ हजार ३२४ रहेको बताइएको छ । देशको विद्यमान आर्थिक मन्दिका बावजुद संस्थाको वासलात तथा आम्दानी र खर्चहरु अघिल्लो बर्षको तुलनामा केही घटेको भएपनि समग्र नाफा भने ७ प्रतिशतले बढेको संस्थाको लेखा तथा सुपरीवेक्षण समितिका सदस्य डम्बर प्रसाद महतोले जानकारी दिए ।

संस्थाको २४औं साधारण सभाको अवसरमा नियमित बचतकर्ताहरुमध्ये रुद्रनारायण साह ऋणीहरुमध्ये भूपेन्द्र प्रसाद मण्डललाई दोसल्ला र प्रशंसा पत्रले अध्यक्ष गणेश कुमार आशले सम्मान गरेका थिए । यसैगरी संस्थामा लगातार दश बर्ष सेवा गरेका वरिष्ठ सहायकद्वय सुजाता देव र सावित्रा परियार तथा सहायक रघुनन्दन यादवलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । सो अवसरमा संस्थाका ब्यवस्थापक विनोद कुमार साफीले तीनै जना कर्मचारीहरुलाई दोसल्ला, प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेशकुमार आश अध्यक्षीय प्रतिवेदन, उपाध्यक्ष विजयानन्द झाले कोषाध्यक्षको प्रतिवेदन, सचिव शैलेश कुमार चौधरीले सचिवको प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य डम्बर प्रसाद महतोले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित २४औं साधारण सभामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, विजयकुमार दास, मालती दास, कमालउद्दिनले शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक दिनेश कुमार साहले स्वागत गरेका थिए भने कार्यक्रम राजेश झाले सञ्चालन गरेका थिए ।

गत साउन १९ गते स्थापनाको २५औं बर्ष मनाएको आइडियल सहकारी संस्थाले विभिन्न विशेष योजनाहरु समेत ल्याएको छ । रजत जयन्ती बर्षको अवसरमा संस्थाले जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, सञ्चार क्षेत्रको विकास, स्वास्थ्य शिविर, मैथिली भाषा साहित्यको विकासमूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष गणेश कुमार आशले बताए