सोमबार, कार्तिक १० गते २०८३

चन्द्रागिरि साकाेसको २२औं वार्षिक साधारण सभा सम्पन्न, १७ हजार ६ सय सदस्य आवद्ध


आश्विन २८, २०८० आइतबार
चन्द्रागिरि साकाेसको २२औं वार्षिक साधारण सभा सम्पन्न, १७ हजार ६ सय सदस्य आवद्ध

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण  सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आश्विन सम्पन्न भएको छ । 

सभाको उद्घाटन गर्दै  बागमती प्रदेशका संस्कृति पर्यटन तथा मन्त्री  माननीय पुकार महर्जनले चन्द्रागिरिको सेवा उत्कृष्ट रहेको बताएका छन् । सहकारी क्षेत्रको विषम परिस्थितिकाबीच चन्द्रागिरिले सफलता हासिल गरिरहेको बताउँदै मन्त्री महर्जनले चन्द्रागिरि देशकै उत्कृष्ट सहकारी भएको बताए।

साधारण सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुंवरले आ.व. २०७९।०८० वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अवस्था प्रस्तुत गरे । संस्थामा १७ हजार ६ सय ४० जना सदस्य रहेका छन् भने संस्थाको  शेयर पुँजी रु. १९ करोड १२ लाख पुगेको छ । त्यसैगरी बचत संकलन २ अर्ब ६७ करोड ६० लाख गरेको संस्थाले  २ अर्ब १२ करोड ८४ लाख सदस्यमाझ ऋण लगानी गरेको छ । संस्थाको संस्थागत पुँजी रु. १० करोड ५० लाख रहेको छ । 

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुँवरले आम समुदाय र सदस्यहरुको विश्वासका कारण संकटको घडीमा पनि चन्द्रागिरिले सफलता हासिल गरेको बताए ।  कुनैपनि बेला ऋण लगानी नरोकिएको बताउँदै संस्था आफ्नो योजना अनुसार  अघि बढिरहेको अध्यक्ष कुँवरको भनाई थियो । 

लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन मार्फत अघिल्लो साधारण सभाको निर्णयहरूको कार्यान्वयनको अवस्था, आ.व. २०७९।०८० मा बसेको बैठक संख्या निर्णयहरू र निर्णयहरूको कार्यान्वयनको अवस्था, ऋण लगानीको प्रक्रिया, ऋण वापतको सुरक्षण वा धितो सम्बन्धी व्यवस्था र सहकारी विभागबाट जारी गरिएका मापदण्डहरूको पालनाको अवस्थाका समीक्षाको साथै लेखा सुपरिवेक्षण समितिका सुझावहरु प्रस्तुत गरेका थिए ।

chandra giri agm 1.jpg 

आगामी बर्षका लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाले सदस्यहरुको आवश्यक्ता बमोजिम सिर्जनशील कार्यक्रम समावेश गरेको बताए । सदस्य र समुदायको विश्वास र मायाकै कारण आजको अवस्था सम्म आइपुगेको भन्दै श्रेष्ठले आगामी दिनमा पनि संस्थाले योजनाबद्ध रणनीति बमोजिम काम गर्दै जाने उल्लेख गरे । 

सभामा पि. विनय एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेटको तर्फबाट नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)मा आधारित लेखापरीक्षण प्रतिवेदन समेत पेश गरिएको थियो । उक्त साधारण सभाले विभिन्न ५ ईकाइ सभाहरुबाट पारित भई आएका विभिन्न १३ वटा कार्यसूचीहरुको निर्णयहरु प्रमाणित गरेको छ। 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, सहकारी बैंक लगायत चन्द्रागिरि भित्र कार्यक्षेत्र बनाइ क्रियाशील रहेका संस्थाका प्रतिनिधिहरुले चन्द्रागिरिको सफलतामा आफुहरु खुसी भएको बताउँदै आगामी दिनका लागि शुभकामना दिएका थिउ । 

साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ विगत २४ वर्ष देखि साकोस अभियानमा क्रियाशिल रही सहकारीको छविलाई अन्तराष्ट्रिय स्तर सम्म पुर्‍याउन गरेको योगदान र देशभरकै साकोसहरुका व्यवस्थापक मध्येबाट उत्कृष्ट व्यवस्थापक (प्रमुख कार्यकारी अधिकृत) को रुपमा पुरस्कृत हुने घोषणा भएकोमा संस्थाले अभिनन्दन गरेको थियो । 

यस्तै बर्षको उत्कृष्ट कर्मचारीको रुपमा ओसन तण्डुकार र लगनशिल कर्मचारीको रुपमा रामकृष्ण भण्डारीलाई पुरस्कृत गरिएको छ । साधारण सभामै बर्षभरीका उत्कृष्ट सदस्यको रुपमा सदस्यहरु इन्दीरा लामा र नकुल बस्नेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।