जनसेवा साकोस को ३१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिको निर्वाचन सहितको सभाले आगामी चार बर्षका लागि चेतनाथ गौतमको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, सचिवमा दाव बहादुर अधिकारी, कोषाध्यक्षमा टिकाराम आचार्य र सदस्यहरुमा रामजी के.सी., अम्बिका ढुङ्गाना, डम्बर गिरी, दुर्गा गौतम, सरस्वती बाँस्तोला, अप्सरा नेपाली चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षेण समितिमा संयोजक ठाकुरप्रसाद रेग्मी, सदस्य कुशल गिरी र मुना बराल गौतम चयन हुनु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष चेतनाथ गौतमले बार्षिक प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टिकाराम आचार्यले बार्षिक समीक्षा र आगामी बर्षको बजेट प्रस्तुत गरेका थिए । आगामी बर्षको कुल सम्पत्ति ४० करोड, बचत ३१ करोड ऋण ३२ करोड, सदस्य, ३००० र जगेडा कोष ७ प्रतिशत पुर्याउने लक्ष्य सहितको बजेट सभामा पेश भएको थियो ।
सभाका प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलले हाल केही सहकारी संस्थामा सुशासनको कमी हुनु, वित्तीय विवरण सार्वजनिक नहुनु, सदस्यहरुलाई सुसूचित बनाउन नसक्नु, सहकारीका असल अभ्यासको बारेमा प्रचारप्रसार गर्न नसक्नु, सदस्यहरु बढी ब्याजको लाभमा फस्नु जस्ता कारणहरुले संस्थाहरुमा समस्या आएको जनाए ।
उनले वित्तीय कारोबार गर्ने सहकारी संस्थाले अन्तराष्ट्रीय स्तरको पर्ल्स अनुगमन मापदण्डको पालना गरी समुदायमा आधारित रहेर सञ्चालन गरेमा संस्थामा कुनै समस्या नआउने उल्लेख गरे । ठुलो बचतलाई भन्दा पनि सानो र दीर्घकालिन रुपमा धन सृजना गर्ने बचतलाई संस्थाले प्राथमिकता दिनुपर्ने उनले औंल्याए ।
साधारण सभामा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । सभामा उत्कृष्ट दुई बचत कर्ता, उत्कृष्ट कारोवारी २ जना, अधिकतम शेयर खरिद गर्ने २ जनालाई १५ थान शेयर, जेष्ठ सदस्य २ जनालाई सम्मान पत्र र जनसेवा कोशेली, उत्कृष्ट बालबचतकर्तालाई स्टेसनरी सामान, बर्ष उत्कृष्ट सदस्य १५ थान शेयर, एस. ई. ई. मा उत्कृष्ट अंक ल्याउने १ छात्र र १ छात्रालाई पुरस्कृत गरिएको थियो ।
भाद्र मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३४ करोड ३५ लाख पुगेकाे छ । त्यसैगरी सदस्य संख्या २ हजार २५२, शेयरपुँजी ३३ करोड ६८ लाख, बचत संकलन २६ करोड ६८ लाख, ऋण लगानी २७ करोड ३० लाख रहेको छ भने संस्थाको जगेडा कोषमा २ करोड ३० लाख रकम पुगेको छ ।
