सहकारीमा व्यक्तिगत बचतको सीमा अधिकतम २५ लाख मात्र हुने गरी ल्याइएको संशोधन विधेयकबाट उक्त बुँदा हटाइने भएको छ ।
संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमितिले बुझाएको प्रतिवेदन अनुसार बचतको अधिकतम सीमा हटाउने प्रस्ताव पारित गरेको हो । प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा ५२ मा अन्तर्गत संशोधन गर्न अघि सारिएको विधेयकको दफा १८ को उपदफा २ झिक्ने निर्णय समितिले गरेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेका विधेयकमा सहकारीमा बचतकाे सीमा २५ लाख कायम गर्ने बुँदा समेटिएकाे थियाे । त्यसयता सहकारीकर्मीहरूले बचतमा ताेकिएकाे सीमा हटाउनुपर्ने भन्दै उक्त बुँदाकाे विराेध जनाउँदै आएका थिए ।
आज कास्कुनले आयाेजना गरेकाे स्थापना दिवसकाे कार्यक्रममा बाेल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उक्त बुँदा हटाउनका लागि राजनीतिक दलका नेतृत्व, सरकारी निकाय र विधायकहरूसँग लबिइङ गर्दै आएकाे बताएका थिए।