सोमबार, कार्तिक १० गते २०८३

कल्याणकारी सहकारी संस्थाको जगेडा कोषमा ३१ करोड ३५ लाख


आश्विन २३, २०८० मंगलबार
कल्याणकारी सहकारी संस्थाको जगेडा कोषमा ३१ करोड ३५ लाख

ललितपुरको लुभुमा रहेको कल्याणकारी बचत तथाऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ९१ करोड ४० लाख पुगेको छ । संस्थाको ३० औं बार्षिक साधारण सभामा अध्यक्ष देवी श्रेष्ठले अध्यक्षको तर्फबाट मन्तव्य राख्दै सो कुरा जानकारी दिइएकी हुन् ।

संस्थामा गत असार मसान्तसम्म ६ हजार ९९१ जना सदस्य पुगेको र सदस्यहरुको विश्वासका कारण संस्थाको कारोबारमा समेत वृद्धि भएको उनले बताईन् । संस्थाले अर्थतन्त्रको संकुचनको अवस्थामा पनि १२ करोड ४ लाख रुपैया कुल सम्पत्तिमा वृद्धि गर्न सकेको उनले सभामा जानकारी दिईन् । संस्थाले गत आर्थिक बर्षम ७ करोड १७ लाख ६० हजार शुद्ध नाफा आर्जन गर्न सकेको छ भने सदस्यहरुलाई १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय सभाले गरेको छ ।

संस्थाका सचिव प्रभुराम थापाले आर्थिक बर्ष २०७९ / ८० को बार्षिक प्रतिवेदन तथा चालु आर्थिक बर्ष २०८०÷८१ को  नीति तथा कार्यक्रम  सभामा प्रस्तुत गरेको थिए । संस्थाले गत बर्ष वृक्षारोपन, स्वास्थ्य शिविर, सदस्य अन्तरक्रिया अध्ययन भ्रमण र क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । संस्थाले राहत कोष मार्फत सदस्यहरुको मृत्यु हुँदा  मृतकको परिवारलाई १५ हजार प्रदान गर्दै आएको छ भने सदस्य विरामी भई अस्पतालमा भर्ना भएर उपचार गरेमा ७  दिनको अस्पताल भर्ना शुल्क उपलब्ध गराउँदै आएको छ ।  गता बर्ष १८२ जनालाई ८ लाख ३२ हजार अस्पताल भर्ना  शुल्क  उपलब्ध गराएको संस्थाले जनाएको छ ।

संस्थाको कोषाध्यक्ष सुधिर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आ.ब.को असार मसान्तसम्म शेयर पुँजी १७ करोड १४ लाख ९४ हजार , बचत संकलन १ अर्ब २० करोड ७ लाख , जगेडा कोष ३१ करोड ३५ लाख र ऋण लगानी १ अर्ब  ५३ करोड ४७ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा १ करोड ७२ लाख ८ं१ हजार विनियोजन गरेको छ ।