न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए ।
सभामा अध्यक्ष हेम कार्कीले आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संरचनालाई मजबुद बनाउँदै अगाडी बढेको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पल्र्स अनुगमन प्रणाली अनुसार वित्तीय कारोवारलाई अगाडी बढाएकाले आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संन्तुलन कायम गर्न सकेको उनको भनाई छ । सदस्यहरुलाई सहज वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाईल बैकिङ्ग ,इ टेलर,मिस कल सेवा ,क्यु आर भुक्तानी, फन्ड ट्रान्सफर जस्ता थुप्रै सुविधा प्रयोगमा ल्याएको उनले सभामा जानकारी दिए ।
आर्थिक वर्ष ०७९ \८० को वित्तीय विवरण अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी २० करोड ७२ लाख ५५ हजार रहेको छ । अध्यक्ष कार्कीले गत असार मसान्तसम्म शेयर पुँजी १० करोड १४ लाख ५० हजार ,बचत संकलन १ अर्व ११ करोड ९० लाख ७० हजार , ऋण लगानी १ अर्व ६६ करोड २४ लाख ५३ हजार र बाह्य ऋण ३७ करोड २३ लाख ७६ हजार रहेको जानकारी दिए । २ करोड ७६ लाख ३७ हजार ७८२ रुपैंयाँ कर अघिको नाफा रहेको संस्थाको कूल सम्पति १ अर्व ९२ करोड ८१ लख २३ हजार ७२० रुपैंयाँ रहेको अध्यक्ष कार्कीले जनाए। संस्थाको जोखिम कोषमा ९ करोड ३१ लाख ५६ हजार रहेको छ ।
संस्थाले गत आ.ब.मा १ करोड ५१ लाख १४ हजार रुपैंयाँ सरकारलाई राजश्व तिरेको पनि सभामा जानकारी दिए । ५ हजार ८५५ सदस्य रहेको संस्थाको काठमाडौमा मैतिदेवी र काँडाघारीमा सेवाकेन्द्र रहेका छन् । त्यसैगरी संस्थाले ओसज आयुर्वेदिक हस्पिटल र हिमाल डेन्टल हस्पिटलसंगको सहकार्यमा सदस्यलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको जानकारी दिए ।
संस्थाले यसै वर्षमा रक्तदान, विज्ञ सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्य गरेको जनाए । सभामा संस्थाको लेखा समिति प्रतिवेदन संयोजक मोहनबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए । साधारण सभामा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेफस्कुन र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरुले विषम परिस्थितिकाबीचमा पनि वित्तीय सुचंकहरु बलियो बनाउनु संस्थाको सबल पक्ष भएको बताए ।
नेपालपत्र संवाददाता