बनेपा, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यको सहजताको लागि असोज १३, १५ र १६ गते सेवा केन्द्रहरुमा सदस्य उपस्थिति तथा नाम दर्ता खुल्ला गरेको थियो भने असोज १८ गते सबैं इकाइबाट छनोट भएका प्रतिनिधिहरुबाट निर्णय प्रमाणिकरण गरी सभा सम्पन्न गरेको जनाएको छ।
सभामा मन्तव्य राख्दै संस्स्थाका अध्यक्ष कैलाश के.सी. ले विश्वव्यापी आर्थिक मन्दी र राष्ट्रिय आर्थिक गतिविधिमा संकुचन आए पनि बुडोल सामुदायिकको बचत संकलन र ऋण लगानीमा वृद्धि भएको बताए । संस्थाले निधारित मापदण्डहरुलाई खस्कन नदिएको र गत बर्षको तुलनामा झन्डै ३ करोडले पुँजी वृद्धि गर्न सकेको उनले सभामा जानकारी दिए । संस्थाले गत आर्थिक बर्षमा कुल सम्पत्तिको ७.८३ प्रतिशतले वृद्धि गर्न सकेको छ भने नाफामा १२. ६७ प्रतिशतले वृद्धि गरेको छ ।

संस्था समुदायमा आधारित भएर सदस्यको विश्वास जितेर काम गरेको कारण आर्र्र्र्र्र्थिक मन्दीका बीचमा पनि वित्तीय कारोबारमा वृद्धि गर्न सकेको उनले बताए । संस्थाले प्रयाप्त तरलता लिएर बसेको र सदस्यले मागको बेलामा जति पनि रकम फिर्ता गर्न सकेको उनको भनाई छ । सहकारी अभियानलाई दरिलो पार्दै जनताको पहिलो रोजाईको वित्तीय आवश्यकताको परिपुरक रुपमा सहकारी बनाउनु पर्नेमा त्यसको विपरित विद्यमान जन सहभागितामा कमि ल्याउने तर्फ सरकारको कदम अगाडी बढाएको उनको भनाई छ । सहकारी मुल्य मान्यता र सिद्धान्त बाहिर गएर सञ्चालन भएका, सदस्यको बचतलाई आफु खुसी परिचालन गर्ने र वित्तीय अनुशासनमा नचलेका केही सहकारीका कारण सिङ्गो अभियान नै समस्यामा परेको उनको बुझाई छ ।
अर्को तर्फ प्रभावकारी नियमनको समेत अभाव रहेको उनले जनाए । संस्थाका सचिव जयराम थापाले आर्थिक बर्ष २०७९/८० को प्रगति प्रतिवेदन सभामा प्रस्तुत गरेको थिए । गत आर्थिक बर्षमा २ हजार ३९३ सदस्यता वृद्धि भई कुल सदस्य १७ हजार ७६७ पुगेको उनले जानकारी दिए । त्यसैगरी संस्थामा ७ हजार माथि बाल बचतकर्ता रहेका छन् । संस्थाको कार्यक्षेत्र जिल्लाभर रहेको र कुल जनसंख्याको ६.८८ प्रतिशत सदस्यलाई वित्तीय सेवा दिदैँ आएको उनले बताए ।
संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यले तिरेको ब्याजबाट ३ प्रतिशत र सदस्यहरुले प्राप्त गरेको ब्याजबाट ३.५ प्रतिशत हुन आउने ७३ लाख ७४ हजार रकम वितरण गरिएको सभामा उनले जानकारी दिए । संस्थाले सदस्य हितकोष मार्फत सदस्यहरुलाई विभिन्न राहत तथा उपचार खर्च प्रदान गर्दै आएको छ भने सदस्य शिक्षा शिविर, विद्यालय बुसा कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, जेष्ठ सदस्य सम्मान , सक्षमता विकास शिविर, कौसी खेती तालिम, जेष्ठ सदस्य सम्मान जस्ता थुप्रै कायक्रम गर्दै आएको छ ।

संस्थाका कोषाध्यक्ष राधेश्याम के.सी.ले सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म कुल सम्पत्ति १ अर्ब ८२ करोड ७६ लाख पुगेको बताए । संस्थाको शेयर पुँजी १५ करोड ८९ लाख , बचत संकलन १ अर्ब ४३ करोड ३६ लाख र ऋण लगानी १ अर्ब ३२ करोड ३२ लाख रहेको छ । संस्थाको संस्थागत पुँजी १४ करोड ३० लाख ६२ हजार पुगेको छ । संस्थाले गता आ.व.मा ६ करोड ३६ लाख खुद मुनाफा आर्जन गरेको छ । संस्थाले सदस्यको आर्य आर्जनलाई वृद्धि गर्ने उदेश्यले कृषि तथा पशुपालन, व्यवसायिक, शिक्षा, रोजगार आवास , स्वरोजगार , लघुवित्त,सरल र आपतकालिन जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।