सोमबार, कार्तिक १० गते २०८३

देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री


आश्विन १८, २०८० बिहीबार
देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री

 

काठमाडौं । बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको नवौं वर्ष पूरा भएको अवसरमा आयोजित ‘सिपमूलक तालिमका सम्भावना र योजना’ विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री डा. महतले यस्तो सुझाव दिएका हुन् । उनले भने, ‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।’

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री महतले बताए । उनले भने, ‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । विदेशिएका युवाहरु पनि दक्ष छैनन् । दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।’ 

देशमा शिक्षाको विस्तार भएको छ । तालिम प्राप्त मानव संसाधनको पनि विकास नभएको होइन, सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनाएसँगै सम्बन्धन लिएर धेरै संघसंस्था खडा भएको डा. महतले बताए । 

‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरु हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्’ मन्त्री महतले भने, ‘यसमा धेरै किसिमका डुब्लिकेशन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ । विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गर्छन् । जसबाट ठोस परिणाम आउँदैन ।’

बद्लिदो परिस्थितिअनुसार अहिलेको माग के छ, औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ ? तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ ? त्यसलाई मध्यनजर गरेर व्यवसायिक तालिमलाई विस्तार गर्न मन्त्री महतले सुझाव दिए । 

‘देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बन्चित गरिनु हुँदैन’ मन्त्री डा. महतले भने, ‘अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसमेत आवश्यकताअनुसार निवेदन परेको छैन ।’