सोमबार, कार्तिक १० गते २०८३

दक्षिण बाराही महिला साकोसको २५औं साधारण सभा, बलियो वित्तीय सूचकांक


आश्विन १८, २०८० बिहीबार
दक्षिण बाराही महिला साकोसको २५औं साधारण सभा, बलियो वित्तीय सूचकांक

दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष निर्जला ढुङ्गेल दाहालको अध्यक्षतामा तथा सुर्यविनायक नगरपालिकाकी उप मेयर सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा बोल्ने अधिकांश वक्ताहरुले संस्थाको वित्तीय सूचकांकहरु बलियो रहेकाले सदस्यहरुको बचत सुरक्षित रहेको जनाए । संस्थाले मासिक बचत, शेयरपुँजी र जगेडा कोषलाई पहिलो प्राथमिकतामा राखेको र मासिक बचतको हिस्सा कुल बचतको आधा भएकाले संस्था वित्तीय रुपमा दरिलो रहेको उनीहरुले औंल्याए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले संस्था सबल र सुरक्षित रहेको भन्दै मासिक बचतले सदस्य र संस्था दुवैलाई सुरक्षित बनाउने बताइन् । 

कार्यक्रमका विशिष्ट अतिथि एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सदस्यहरुले यातायात खर्च र खाजाखानामा भन्दा पनि संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनमाथि गहन छलफल गर्नुपर्ने बताए ।

यदि सञ्चालकले गलत निर्णय गरे सदस्यहरुको लाखौं रुपैया गडबडी हुने भन्दै उनले खाजाखाना र परिवहन खर्चमा नअलमलिन उनले आग्रह गरे । अब सहकारीहरुले सदस्यलाई वित्तीय साक्षरता दिनुपर्ने भन्दै उनले सहकारीका बारेमा राम्रो जानकारी दिन नसके फेरिपनि सदस्यहरुको बचत डुब्ने जोखिम कायमै रहने बताए ।

dakshin barahii.jpg

संस्थाकी अध्यक्ष दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिलाहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले २५ वर्ष अघि संस्था स्थापना गरेको बताइन् । संस्थाले ऐन नियम र नियामकले जारी गर्ने मापदण्डहरुको पूर्ण पालना गर्दै अगाडि बढेको उनले बताइन् । सदस्यहरुमा उद्यमशीलता र सीप विकास गरी स्वावलम्बी सदस्य बनाउनका संस्था लागि परेको सो अवसरमा जानकारी दिइन् । संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकास र संकलित पुँजीलाई उनीहरुकै आर्थिक स्तर उकास्न, सीप विकास गरी उद्यमी बनाउन ऋण लगानी गर्दै आएको सभामा जानकारी दिइन् ।

संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले आर्थिक वर्ष २०७९।८० वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरुकै हितका लागि योजना बनाइ कार्यान्वयन गर्दै आएको उल्लेख गरिन् । संस्थाले ज्येष्ठ सदस्य सम्मान, एसईई सम्मान, राहत कोषमार्फत रकम वितरण, सहकारी शिक्षा, रक्तदान, स्त्रीरोग, दन्त शिविर र अध्ययनअवलोकन भ्रमण जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

संस्थाकी कोषाध्यक्ष तारा खतिवडाले गत आ.व. को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले ६ करोड ३० लाख नब्बे हजार बचत संकलन गरी ८ करोड ३१ लाख ७६ हजार ऋण लगानी गरेको बताइन् । संस्थाले ११८० जना शेयर सदस्यबाट १ करोड ३८ लाख शेयरपुँजी संकलन गरेको छ भने संस्थाको जगेडा कोषमा १ करोड ५३ लाख रकम जम्मा रहेको छ । त्यस अवधिमा संस्थाले ६० लाख ७५ हजार सञ्चालन बचत गर्न सफल भएको छ ।

सभाको सञ्चालन संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले गरेकी थिइन् । सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।