सोमबार, कार्तिक १० गते २०८३

“सहकारीमा समस्या आउनुमा सञ्चालकसँगै सदस्य पनि जिम्मेवार” : उपमेयर भट्टराई


आश्विन १८, २०८० बिहीबार
“सहकारीमा समस्या आउनुमा सञ्चालकसँगै सदस्य पनि जिम्मेवार” : उपमेयर भट्टराई


सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराईले सदस्यको बचत अपचलन गरे सञ्चालकले जायजेथा बचेर भएपनि तिर्नु पर्ने बताएकी छिन् । दक्षिण बाराही महिला साकोसको २५औं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले नगरपालिका कार्यक्षेत्र भित्र रहेका ३ वटा संस्थाका सञ्चालकहरुले आफ्नो सम्पत्ति बेचेर सदस्यको बचत फिर्ता गरिरहेको उनले जानकारी दिईन् । ऋण लगानी गर्दा भएको गल्ती, साथी र आफ्ना भन्दै गरिने वित्तीय व्यवहार र ऋणको साँवा ब्याज असुलीमा गरिने हेलचेक्य्राईंका कारण संस्थाहरु समस्यामा पर्ने गरेको उनको भनाई छ । सहकारी पनि वित्तीय कारोबार गर्ने संस्था भएकाले सामान्य रुपमा नलिन उनले आग्रह गरिन् ।

उनले अर्थतन्त्र निर्माणको दरिलो आधार सहकारी भएको भनदै पुँजी निर्माण र उद्यमशीलता विकास गर्ने काममा सहकारी रहेको बताइन् । अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारी रहेकाले युवा, व्यवसायी र सबै पक्षले सहकारीको महत्व बुझ्न आवश्यक रहेको उनको भनाई छ । सहकारी समस्यामा पर्नुमा सञ्चालक मात्र दोषी नरहेको भन्दै सदस्य पनि उत्तिकै जिम्मेवार रहेको उनले बताइन् । बढी ब्याजको लोभमा सहकारीका सञ्चालक र कर्मचारी समेत नचिनेको संस्थामा रकम जम्मा गर्दा अहिले सदस्यहरुको बचत समेत जोखिममा परेको बताइन् ।

सदस्यहरुले ब्याजका लागि बचत गर्ने तर संस्था कसरी सञ्चालन भएको छ भन्ने कुरामा भने ध्यान नदिदाँ सञ्चालकहरुले बचत अपचलन गरेको उनको भनाई छ । ऋण लगानी गर्दा नीति र विधिमा रहेर लगानी गनुपर्ने भन्दै उनले भावनामा बगेर कारोबार गर्दा संस्था जोखिममा पर्ने बताईन् । उनले भनिन्,‘सदस्यहरुले भावनामा डुुबेर ब्याजका लागि जस्तोेसुकै संस्थामा बचत गर्नुभयो, अहिले साउँ न ब्याज भएको छ । त्यसैले सहकारीमा बचत गर्दा ब्याजलाई भन्दा पनि समुदाय र सदस्य केन्द्रीत कारोबार गर्ने संस्थामा मात्र गर्नुस् ।’

पहिलो चरणमा नगरपािलकामा रहेका १५ वटा महिला सहकारी संस्थाको कार्यालयमा नै गएर सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुसँग बसेर छलफल गर्ने र उहाँहरुबाट राय सुझाव लिनुका साथै आवश्यक तालिम तथा शिक्षा प्रदान गर्ने उनले जानकारी दिइन् । त्यसैगरी ठूलो कारोबार गर्ने, कृषि र बहुउदेश्यीय सबै प्रकृतिका संंस्थाको अनुगमन गर्दै जाने उनले बताइन् ।

अध्यक्ष वा व्यवस्थापकलाई मात्र तामिम दिँदा प्रभावकारी नभएको र कार्यान्वयनमा समेत समस्या भएकाले संस्थाका सञ्चालक, लेखा समिति र कर्मचारीलाई सयुंक्त रुपमा तालिम दिने तयारी नगरपालिकाले गरेको सो अवसरमा उनले जानकारी दिइन् । कतिपय संस्थाले कर छली गरेका कारण अहिले मुद्धा मामिला गरिराख्नु परेको भन्दै उनले राज्यले तोकेको नियम अनुसार कर तिर्न पनि संस्थाहरुलाई आग्रह गरिन् ।

सदस्यले पनि १० वटा संस्थामा सदस्य बनेर १–१ लाख भए पनि ऋण लिने तर  भोलि कसरी ऋण तिर्ने भर्ने योजना नबनाउने गर्नाले पनि सहकारीलाई समस्यामा पारेको उनको भनाई छ । मासिक बचतले संस्था सुरक्षित र सदस्यको पुँजी वृद्धि हुँदै जाने भएकाले यसले दुवै पक्षलाई फाइदा पुग्ने उनले जनाइन् । दक्षिण बाराही महिला साकोसको समग्र वित्तीय सुचांकहरु बलियो रहेकाले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरिन् ।