बुधबार, भाद्र ३ गते २०८३

‘सहकारी ऐन पूर्ण कार्यान्वयन नहुँदा अहिलेको समस्या आएको हो’

श्रावण ३१, २०८० बुधबार
‘सहकारी ऐन पूर्ण कार्यान्वयन नहुँदा अहिलेको समस्या आएको हो’

सहकारी अभियानको संक्रमणकालिन अवस्था सकिएको हो कि कायमै छ ? 

सहकारीमा अहिले आएको समस्या कृत्रिम हो । परिस्थितिजन्य ढंगले यो सृजना भएको हो । कृत्रिम समस्या भन्नेबित्तिकै यो मनोसामाजिक समस्या हो । यसलाई मनोसामाजिक परामर्शबाट समाधान गर्नुपर्छ । यो बचत तथा ऋण सहकारी संस्थासँग जोडिएको समस्या हो । मूलत: अन्तराष्ट्रिय सहकारी सिद्धान्तलाई स्वीकार नगर्ने र त्यसको आडमा सञ्चालित केहि संस्थाहरुमा बिचलन देखिएको छ । बिचलनको कारणले गर्दा आम सञ्चारमाध्यमले एउटै कोणबाट मात्रै विषयवस्तु बाहिर लगे । यसले गर्दा अन्य संस्थाहरुमा पनि समस्या सार्ने अवस्था बन्यो । अर्कोतर्फ विश्व अर्थव्यवस्थामा आएको मन्दीको प्रभाव पनि परेको छ । तर मन्दी र अहिलेको बिचलनबीच कुनै सम्बन्ध छैन । विश्वका धेरै देशका सहकारी अभियानकर्मीसँग हालसालै मैले भेटेर आएको छु । विश्व ऋण परिषदको साधारणसभामा ६४ देशका सहकारी अभियानका अध्यक्षहरुसँग हामी अन्तक्र्रियामा थियौं । आर्थिक मन्दीको समस्या विश्वव्यापी छ । तर बिचलन भने हाम्रो देशमा मात्रै छ । बिचलत २०७४ को ऐनको पूर्ण कार्यान्वयन नभएकाले आएको हो । सरकारले ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन नगर्दा समस्या निम्तियो । नियमनलाई प्रभावकारी बनाउनुपर्छ । त्यसको कुनै विकल्प छैन । नियमन र सुशासनभन्दा बाहिर रहेका संस्थाहरुलाई दण्डित गर्नुपर्छ । संस्थागत सुशासनको मुलधारमा ल्याउनुपर्छ ।

तीन तहको सरकार छ, सहकारीको नियमन प्रभावकारी हुने देखिएन नि ?

यसले नै अलमल बनायो । संविधानले नियामक निकायको रुपमा संघीय सरकार रहन्छ,  प्रवद्र्धन, विकास र तालिमशिक्षासँग प्रदेश र स्थानीय सरकार रहन्छ भनेर संविधानको अनुसूचि ५ ले भनेको छ । अनुसूचि ६, ७ र ८ मा सहकारीको प्रवद्र्धन र विकासको कुरा किटान गरिएको छ । स्थानीय तह सञ्चालन सम्बन्धी ऐन बन्दा त्यसमा सहकारी नियमन भनेर संविधानको भावनाको बर्खिलाप हुनेगरी एउटा बुँदा राखियो । त्यो सरासर संविधानको भावना विपरित छ । संस्थाको नियामक त हामी हौं भन्ने बुझाई स्थानिय तहमा छ । त्यो कुरालाई नहटाएसम्म नेपालको सहकारी अभियान सबल र सुदृढ हुँदैन । संविधानको भावना अनुसार अघि बढ्नुपर्छ । यस्ता विषयमा कसरी समन्वय गर्ने भनेर राज्यको संयन्त्र बनेको छ । संयन्त्रको बैठक बसेर अल्मल्याउने विषयहरुलाई निवारण गरेर जानुपर्छ । यो विषयमा मन्त्रालयसँग पनि प्रारम्भिक छलफल भएको छ र चाँडै टुंगोमा पुग्छ ।

तपाईले सहकारीको समस्या कृत्रिम भएको बताउनु भयो तर सडकमा बचत फिर्ता नपाएर हजारौं मानिस रोइकराई गरिराखेका छन् नि ?

सदस्यले आफ्नो अधिकार पनि बुझेनन् र सञ्चालक समिति निर्दिष्ट आचरणमा रहेनन् । सञ्चालक समितिको निर्दिष्ट आचरणलाई सुशासनको माध्यमबाट स्थापित गनुपर्छ । त्यसको एउटै मात्र हतियार स्तरिकरण हो । सबै संस्थालाई स्तरिकरणको माध्यमबाट स्थापित गर्न मापदण्ड सुनिश्चित नगरीकन यो अभियान संग्लिँदैन । बचतको सुरक्षाको प्रत्याभूति संस्थाले दिनुपर्छ, सदस्यहरू पनि संस्थाप्रति उत्तरदायी हुनुपर्छ । संस्थाको मालिक हुने काम सदस्यले गर्नुपर्छ र सञ्चालक समितिलाई नियन्त्रण गर्ने काम पनि सदस्यले गर्नुपर्छ । संस्थाको माध्यमबाट पाउने सेवासुविधा पनि सदस्यले पाउनुपर्छ । सदस्य केन्द्रियता भनेको नै यहि हो । सदस्य स्वयं मालिक, नियन्त्रक र फाइदाको हकदार पनि हो । ऊ आफ्नो कुरा संस्थामा नराखिकन माइतीघरमा राख्छ भने कसरी समस्या समाधान हुन्छ ?

संस्था नै छैनन् ? कार्यलयमा ताला लगाईएको छ ? सञ्चालक समिति कहाँ हो अत्तोपत्तो छैन ? कसरी नियन्त्रण गर्नु ?

अर्को विधिबाट जानुपर्‍यो, साधारणसभा बोलाउनुपर्‍यो । सञ्चालक समिति बर्खास्त गर्नुपर्‍यो । कानुनी दायराभित्र ल्याउनुपर्‍यो । सदस्यहरूमध्येबाट संस्थाको नियन्त्रण लिनुपर्‍यो । हरेक संस्थाको सञ्चालन प्रक्रियाको नियन्त्रक सदस्य हो । संस्थालाई नियन्त्रणमा लिएर समस्या समाधान गर्ने हो । माइतीघर बसेर समस्या समाधान हुदैन भनेर मैले भनेको थिएँ । केही समय मैले भनेको विषय तीतो भयो होला तर तथ्यगत रूपमा त त्यहि हो । स्वामित्व, नियन्त्रण र फाइदा लिने विषयमा सबै जुट्नुपर्छ । वास्तविक मालिक सदस्यलाई बनाउनु पर्छ । नियन्त्रण प्रक्रियामा सदस्यको भूमिकालाई सुनिश्चित गर्नुपर्छ र पूर्ण हकदार पनि सदस्यलाई बनाउनुपर्छ । यति भएपछि सहकारी सदस्यतिर फर्क भन्ने कार्यक्रमको उदेश्य पुरा हुन्छ । त्यसपछि सहकारी अभियान पहिलेकै गतिमा अगाडि बढ्छ । सुशासन भंग गर्ने, व्यक्तिगत लाभका लागि संस्थाको सम्पत्ति दुरुपयोग गर्ने व्यक्तिहरुलाई सुशासनको दायरामा फर्काउनुपर्छ । सञ्चालकले सदस्यको बचत दुरुपयोग गरेका छन् भने दण्डित गर्ने काम गर्नुपर्छ । यो काम नियामक निकायले सुरु गर्नुपर्छ ।

गलत काम गर्ने सञ्चालक वा व्यवस्थापन कानुनको दायरमा आउनुपर्छ भनेर तपाईहरू खुलेर भन्नसक्नु हुन्छ त?

दृष्टिकोण, जीवनशैली, संगठनात्मक पद्धतिमा आएको बिचलनको पक्षमा नेफस्कून हुँदैन । गलत गर्ने संस्थाका सञ्चालकलाई कानुनको दायराभित्र ल्याउनैपर्छ । कानुनी संहिता परिपालनमा बाध्य बनाउनैपर्छ ।

सहकारीका सदस्य मालिक हुन् । उनीहरु नाफा घाटाको हिस्सेदार र संस्थाको नियन्त्रक हुन् भन्नुभयो तर व्यवहारमा त त्यो पाईंदैन नि ?

राज्यको भूमिका यहिँनेर चाहिन्छ । अभियानले प्रवद्र्धन र विकासको भूमिका यहिँनेर खोजेको हो । राज्य नियमनको नाममा एक दिन गएर संस्था हेर्ने र फर्किने गरिराखेको छ । नियमनको काम संघीय सरकारले गर्नुपर्छ । शिक्षा, तालिम दिने, संस्थाहरुलाई सबल बनाउने, विषयवस्तुको जानकारी दिने र स्वावलम्बी नागरिक पैदा गर्ने काम स्थानीय र प्रदेश सरकारले गर्नुपर्छ । संघीय सरकार कठोर नियमन प्रणालीमा जानुपर्छ । अहिलेको समस्याको समाधान यहि हो । त्यसको निम्ति औजार चाहिन्छ । वित्तीय सहकारी संस्थाको सञ्चालन सम्बन्धी छुट्टै ऐनको विकल्प छैन । वित्तीय क्षेत्रलाई प्रभावकारी बनाउनको निम्ति वित्तीय सहकारीको विकल्प छैन । अहिलेको समस्याको समाधानको एउटै मात्र सुत्र वित्तीय सहकारीको छुट्टै ऐन हो ।

छुट्टै ऐन ल्याउनका लागि लामो समयदेखि लागिरहनु भएको छ, किन आउन नसकेको ?

बचत तथा ऋण सुरक्षण कोष तत्काल कार्यान्वयन हुनुपर्‍यो । त्यसको निम्ति कार्यविधि बनाएर हामीले मन्त्रालयलाई बुझाई सकेका छौं । मन्त्रालयले सकारात्मक ढंगले सम्बोधन गरिदिए मात्रै पुग्छ । स्तरिकरण कार्यक्रमको लागि सरकारसँग सम्झौता भएको छ । सरकारको मापदण्ड बनेर कार्यान्वयनमा जाुनपर्छ । सबै संस्था स्तरिकरणको मापदण्डभित्र आउनैपर्छ । नआउने संस्थालाई पनि निश्चित समयभित्र आउन प्रेरित गर्नैपर्छ । सबै संस्थाहरु स्तरिकृत हुनुपर्छ । स्तरिकृत भए भने संस्थाहरु सुशासनमा रहन्छन् । यदि ती संस्थाहरु दुर्घटनामा परे भने स्थिरिकरण कोषले सुरक्षाकवचको रुपमा काम गर्छ । यी सबै कुराको आधार बनिसकेको छ । प्रभावकारी कार्यान्वयनको खाँचो छ । यो काम राज्यले गर्‍यो भने विकृति र विसंगति हटेर जान्छ । सहकारी अभियानको गरिमा बढ्छ । सहकारीको मुल्य, मान्यता, सिद्धान्त र आदर्शहरु संस्थागत हुन्छन् । 

स्थिरिकरण कोषका कतिपय प्रावधानहरु पूरा गर्न संस्थाहरुलाई गाह्राे छ नि ? जसले गर्दा साना संस्था सहभागि हुन नसक्ने देखिन्छ नि ?

अलमल र अप्ठ्यारा बनाउने कुरा संशोधन गर्दै जानुपर्छ । वित्तीय सहकारी ऐन ल्याएर त्यसभित्र स्थिरिकरण कोष राखेर जानुपर्छ । स्थिरिकरण कोषमा सत्रै सहकारी संस्था सहभागि हुन सक्दैनन् भने स्तरिकरण कार्यक्रममा सहभागि हुनुपर्छ । जनताका पैसाको सुरक्षा स्तरिकृत संस्थाले गर्छन् । स्तरिकृत संस्थाबाट समेत  जनताको पैसा सुरक्षित भएन भने स्थिरिकरण कोषले सुरक्षा गर्छ । राज्य उत्तरदायी हुनुपर्‍यो । अभियान उत्तरदायी हुनुपर्‍यो । हामीले राज्यलाई उत्तरदायी बनाउन पाँचछ वटा कार्यविधि बनाएर पठाएका छौं ।

यी सबै कुरा नेफ्स्कुन मातहतमा मात्र रह्यो, यसले गर्दा पनि कार्यान्वयनमा जान समस्या भयो भन्ने आरोप छ नि ?

यहिँ त रहन्छ । ९० प्रतिशत संस्थाले बचत तथा ऋणको कारोबार गर्छन् । यो संवेदनशील विषय हो । बचत र ऋणको कारोबारमा नियामक निकाय प्रभावकारी भएर आउनुपर्छ । संस्थाहरुले वित्तीय सुचांकहरुको परिपालना गर्नुपर्छ । वित्तीय कारोबार गर्ने र नाम सुपारी, स्वास्थ्य राख्न कहाँ पाइयो ? बचतऋणलाई निश्चित दायरामा राख्नुपर्छ । बचतऋण सहकारीको गुण बचत ऋण सहकारीमा देखिनुपर्छ । अरु विषयगत सहकारीमा हुने गुण अन्य संस्थामा हुनुपर्छ । गुणस्तरीय सुनिश्चितता भनेको यहि हो । स्तरिकरणले बचतऋणको गुण छुट्याइदिन्छ । त्यो गुण छुटेपछि अन्य संस्थाहरु बचतऋणको गुण भएर आउनुपर्छ । वित्तीय सुचकांकहरुको परिपालना गर्नुपर्छ । अब वित्तीय सहकारी संस्था र सेवा सहकारी संस्था छुट्टिनुपर्छ । उत्पादन र सेवामूलक सहकारी नछुट्टिएसम्म जिडिपीमा योगदान देखिँदैन । उत्पादन र सेवा सहकारीलाई राज्यले अनुदान, शिक्षा, तालिमका साथै सहयोग गर्नुपर्छ । वित्तीय सहकारीलाई सुशासनमा राख्न नियमन गर्नुपर्छ । यो गुण आउनको निम्ति वित्तीय सहकारीको छुट्टै ऐन चाहिएको हो । वित्तीय सहकारी ऐन आयो भने कार्यक्षेत्र, पुँजी लगायतका निश्चित आधारहरु तय हुन्छन् । सुलभ वित्तीय सुनिश्चितताको पहुँच सृजना हुन्छ । त्यसको निम्ति दार्चुलाका सहकारी संस्था र काठमाण्डौका सहकारीको टेरिटोरी म्यानेजमेण्ट गर्नुपर्छ । अहिले एउटा नाम राखेर मुलुकभर संस्था चलाइएको छ । यो किमार्थ हुनुहुन्न । नीतिगत विषयमा नेफ्स्कुनको सर्वोच्चता कायम भएको छ । मातहतमा स्वायत्तता हुनुपर्छ । जिल्ला संघ, बचत संघ, कृषि र बहुउद्देश्यीयले पनि त्यसलाई आत्मसात गरेर बचतऋणको कारोबार गर्ने काम रोक्नुपर्छ । यी सबै रोक्ने आधार भनेको वित्तीय सहकारी ऐन हो ।

संघको कुरा गर्दा पालिकाहरुले ऐन बनाउन सक्ने व्यवस्था ऐनमा छ । प्रदेश संघहरु गठन भएर अघि बढिसके, केन्द्रिय संघहरु छन्, महासंघ छ । तर सबैले गर्ने काम एकै प्रकृतिको देखिन्छ नि ? यति धेरै संघ आवश्यक हो ?

एउटा प्रारम्भिक संस्था ८ वटा संघमा सदस्य हुनुपर्छ । यो व्यवहारिक छैन । बचत ऋणको ठाडो सम्बन्ध बनाउनुपर्छ । त्यसमा जिल्लास्तर र प्रदेशस्तरको संयन्त्र बनाउन सकिएला । बचत ऋण सहकारी संस्था एउटा भूगोलमा हुन्छ । उसले एउटै मात्र शेयर केन्द्रमा हाल्छ । केन्द्रिय संघले आवश्यकता र क्षमता अनुसार जिल्लाको संरचना बनाउँछ । जिल्लाको संरचना लोकतान्त्रिक नियन्त्रण प्रणालीबाट आउँछ । त्यसो हुँदा एउटा संस्था ८ वटा संघप्रति उत्तरदायी बनिरहनु पर्दैन । जिम्मेवारी केन्द्रिय संघमा रहने प्रावधान हुनुपर्छ । यदि त्यो भएन भने नेटवर्क म्यानेजमेन्ट गर्न सकिँदैन । यी सबै कुरा वित्तीय सहकारी ऐनमा उल्लेख गर्नुपर्छ । वित्तीय सहकारी ऐन ल्याउन सकिएन भने अहिले बनेको कार्यदल असफलसिद्ध हुन्छ । निष्कर्षमा राज्य असफल हुन्छ । 
एउटा प्रारम्भिक संस्था केन्द्रिय संघमा आवद्ध हुने, विषयगत रुपमा जिल्लास्तर र प्रदेशस्तरमा आवद्ध हुने संरचना बनाउनुपर्छ । सम्पत्तिमा केन्द्रियता हुन्छ र सामथ्र्य, योग्यता र आवश्यकताको आधारमा केन्द्रिय संघले काम र अधिकार विनियोजन गर्छ । । त्यसको रणनीतिक निक्षेपण केन्द्रिय संघले गर्छ । नीतिगतरुपमा सबै संलग्न हुन्छन् रणनीतिक निक्षेपण गरेर प्रदेश बचत संघ हुँदै प्रारम्भिक संस्थामा कसरी जाने भनेर तय गर्छन् । विश्व ऋण परिषदले यति राम्रो सिद्धान्त बनाइदिएको छ तर हामी पालना नै गर्दैनौं । वित्तीय सहकारीका सिद्धान्त परिपालना गर्ने विषयमा अगाडि बढियो भने समस्या हुँदैन ।

नेफ्स्कुनमा जति संस्था आवद्ध छन् त्यति खुसी देखि“दैनन्, तपाईंहरुले खेल्नुपर्ने जति भूमिका खेल्नु भएन भन्ने आरोप छ नि ?

नेफ्स्कुनले सुशासनको कुरा गर्छ । सुशासनमा बस्ने संस्थाहरु नेफ्स्कुनलाई नै सर्वोच्च मान्छन् । सुशासन र स्तरिकरणमा बस्ने संस्थाले त नेफ्स्कुनलाई नेता मान्छन् । नीतिको नेतृत्व गर्ने संघको रुपमा लिन्छन् । जुन संस्था सुशासनमा बस्न चाहँदैन, एकाधिकार खोज्छ, त्यस्ता संस्थाहरु नेफ्स्कुनसँग अलि फरक मत राख्छन् । त्यस्ता संस्थालाई बुझाउनुपर्छ । यो साझा अभियानको विषय हो । सुशासनमा बस्ने कुरामा नेफ्स्कुनले मोनोपोली गर्न दिँदैन । बचतऋणको नाममा दुरुपयोग गर्ने सञ्चालक समितिलाई निरुत्साहित गर्छ ।

नेफ्स्कुनमा आवद्ध भएका धेरै संस्थाले समेत सदस्यको बचत फिर्ता गर्न सकेका छैनन्, कसरी सुशासनको कुरा गर्नुहुन्छ ?

एउटा कृत्रिम समस्या सृजना भएकाले त्यसले संस्थाहरुलाई अप्ठ्यारो बनायो । अर्को सञ्चालक समितिले निर्दिष्ट आचरण पुरा नगर्दा समस्या आयो । सञ्चालक समितिले आफ्नो कर्तव्य, काम र उत्तरदायित्व पालन नगर्दा समस्या आएको हो । ती संस्थालाई राज्यले दण्ड लगाएर नियमनको दायराभित्र ल्याउनुपर्छ । हाम्रो सामथ्र्यले भ्याएसम्म यी कुरा संस्थाहरुलाई सिकाउँदै आएकाछौं । राज्यले १५ प्रतिशत कर लिने तर उत्तरदायित्व नलिने कहाँ मिल्छ ? सहकारी प्रवद्र्धन कोषको ०.५ प्रतिशत रकम महासंघमार्फत खर्च गरौं न भन्दा नमान्ने कहाँ मिल्छ ? महासंघलाई सक्षम संघ बनाउनुपर्छ । विश्वव्यापी रुपमा त्यो कोष महासंघले चलाउँछ । हामीकहाँ मन्त्रीस्तरिय बैठक बस्छ । कार्यान्वयन हुँदैन । कुनै पनि विषयमा राज्य उत्तरदायी छैन । कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण, सहकारी प्रवद्र्धन कोष र बचत तथा ऋण सुरक्षण कोष गठन जस्ता कुनै पनि विषयमा राज्य उत्तरदायी भएन । प्रवद्र्धन र स्तरिकरणका कार्यक्रममा राज्य जिम्मेवार हुँदैन । मुख्य कारोबारको विषय ऐनमा छ, कार्यान्वयन हुँदैन । सर्वोच्च निकायको रुपमा संघीय ऐन भनेको छ, पालिका र प्रदेशले अर्को ऐन बनाएको छ । पालिकामा समेत संघको परिकल्पना गर्न थालिएको छ । राज्यले उत्तरदायित्व नलिएका कारण अहिले  समस्या सिर्जित भएको हो ।

सहकारीमार्फत आर्थिक समृद्धि र समाजवाद निर्माणको कुरा गरेपनि राज्यले सहकारीलाई प्राथमिकता नदिनुको कारण के हो ? अन्य क्षेत्रले उठाएका माग त राज्यले सम्बोधन गर्छ ?

अभियानको बीचमा ऐक्यवद्धता नभएर हो । विषयगत संघ भएपछि आफ्नो क्षेत्रको लबिइङ्ग त गर्नुपर्छ नै । हाम्रो कार्यक्षेत्रभित्र अरुले आएर हस्तक्षेप गरेकोले समस्या भएको हो । सुपारीले बचत ऋण गर्न मिल्छ कि मिल्दैन ? सुपारीले सुपारीको र स्वास्थ्यले स्वास्थ्यको प्रवद्र्धन गर्ने होला नि ? तर राज्यले सबैलाई हेर्ने दृष्टिकोण एउटै भयो । मुलुकमा ९० प्रतिशत सहकारी  संस्थाले बचतऋणको कारोबार गर्छन् । र त्यसको नेतृत्व नेफ्स्कुनले गर्छ तर महासंघले नेफ्स्कुन र सुपारीलाई एउटै आँखाले हेर्छ । यसले कसरी प्रवद्र्धन र नियमन हुन्छ । उत्पादन र सेवालाई छुट्टै कित्ता र बचतऋणलाइ छुट्टै कित्ता बनाउनुपर्छ । बचतऋण सहकारी छुट्टै ऐन ल्याएर यी सबै कुराको मार्ग प्रशस्त गर्नुपर्‍यो । कार्यदलले यो कुरालाई नछुट्याइ सुझाव दियो भने निष्कर्षमा पुगिँदैन । 

सहकारीमा नेटवर्क म्यानेजमेण्टको कुरा नेफ्स्कुनले निकै उठान गरेको छ । खास कुरा के हो ?

नेफ्स्कुनले यसपटक धेरै वटा काम गरेको छ । स्तरिकरण कार्यक्रमलाई राज्यबाटै वैधानिकता लिएको छ । स्थिरिकरण कोष स्थापना गरेको छ । वित्तीय सहकारीलाई चाहिने सबैभन्दा उच्चस्तरको सफ्टवेयर बनाइसकेको छ । राज्यले स्वीकृति दिने वित्तिकै सबे सूचनाप्रणाली त्यसभित्र आउँछ । राज्यको कानुनी संहिता परिपालना, गोएएमएल देखि सबै कुरा त्यही सफ्टवेयरमा जोड्न सकिन्छ । शिक्षा, तालिम, सूचनालाई नेफ्स्कुनले प्रभावकारी बनाएको छ । सञ्जाल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएको छ । सबै संरचना बनिसकेको छ । यी संरचनालाई एक सुत्रमा बाँध्ने काम गर्नुपर्छ । यो भयो भने सहकारीमा अहिलेको जस्तो उतारचढाव आउँदैन । सदस्यले अविश्वास गर्ने वातावरण बन्दैन ।

अहिले सहकारी क्षेत्रमा आएको उतारचढावका कारण समुदायमा आधारित संस्थाहरुमा समेत नैराश्यता उत्पन्न भएको छ नि ?

नेफ्स्कुनले राम्रो संस्थालाई प्रोत्साहन गरिराखेको छ । मानव सभ्यतामा यस्ता उतारचढाव आउँछन् । चुनौतिकै बीचमा हामीले सम्भावनाको खोजी गर्नुपर्छ । यसकै बीचमा अवसर सिर्जना गर्ने हो । यसकै बीचमा परिस्कृत हुँदै जाने हो । चुनौति आउँछ । यो पटक उतारचढाव आयो । विस्तारै व्यवस्थापन हुन्छ । सुशासनको पक्षमा उभ्भिने संस्था दिगो र स्थायित्व लिएर अगाडि बढ्छन् । जुन संस्थाले जनताको पैसाको सुरक्षा गर्न सक्दैनन्, ती संस्था धरासायी हुन्छन् । जनताको विश्वास लिएका संस्था अप्ठेरोमा पर्दैनन् ।

अहिलेको वित्तीय संकटले नेपालको सहकारी अभियानलाई नै त बढार्दैन ?

बढार्दैन । शुद्दिकरण र सबलीकरण नै गर्छ । हामी पनि जिम्मेवार हुन थालेका छौं । हिजो बजारमा नेफ्स्कुनको विरोध गर्ने संस्थाहरु थिए । आज नेफ्स्कुनको सर्वोच्चता सबैले स्वीकार गर्नुपरेको अवस्था छ । हामीले विधिको शासनको कुरा गरिराखेका छौं । हामीले बचतको सुरक्षा, समुदायप्रति उत्तरदायित्व, र संस्थाहरुको बचाउको कुरा गर्दै आएका छौं । मानिसले आशाको किरण नेफ्स्कुनसँग मात्रै देखिराखेका छन् । यो कार्यकालमा हामीले आठदसवटा आधार तय गरेका छौं । आधारलाई जोड्ने कुरा नेटवर्क म्यानेटजमेन्ट हो । हामीले ४ वटा आधार अगाडि सारिरहँदा सहकारी संस्थाको आवद्धता र करारीय ऐक्यवद्धताको आधारमा संस्थाहरुलाई एक सूत्रमा बाध्ने कुरा गरेका छौं । स्रोतमा पहुँच र एकरुपता कायम गर्ने, बचतऋण सहकारीको छुट्टै ढंगले व्यवस्थापन गर्ने यसको कार्यसञ्चालनमा स्तरियता, स्वनियमन तथा अनुशासनलाई कार्यान्वयन गर्नुपर्छ भनेर लागिपरेका छौं । यी कुरालाई नेटवर्क म्यानेटमेन्टभित्र स्थापित गर्न सकियो भने हामी अब्बल बन्छौं । अब बचत तथा ऋण नाम गरेका संस्था एउटा सूत्रमा बाँधिन्छन् । संस्था राम्रोसँग चल्नुपर्छ, जनताको बचतको सुरक्षा गर्नुपर्छ भन्ने संस्थाहरु बचत तथा ऋणको महाअभियानमा बाँधिनुपर्छ । त्यसका लागि हामीले नेतृत्व पुनर्जागण कार्यक्रम राखेका छौं । पुनर्जागरणको माध्यमबाट हामी संस्थालाई एक सुत्रमा बाँध्छौं । एक सुत्रमा नआउने संस्थाको हामी जिम्मा लिँदैनौं । हाम्रो नेटवर्क भित्र आउने संस्थाको सम्पूर्ण जिम्मा लिन्छौं । 

नेफ्स्कुनले संस्थाहरुलाई नीति, विधि र सुशासन सिकाउँछ तर नेफ्स्कुनभित्रै यो कुरा खड्किएको छ भनिन्छ नि ?

बाहिर के के भनिन्छ सँग सरोकार होइन, सुशासनको जिम्मा अध्यक्षको नाताले म लिन्छु । नेफ्स्कुनमा कुनै विचलन भएको छ भने कारवाही हुन्छ । नेफ्स्कुनको पद्धतिभित्र नचल्ने कसैलाई पनि छाडिँदैन । साँच्चिकै गल्ती कमजोरी भएका छन् भने प्रमाण ल्याउनुस् त्यसको जिम्मा म लिन्छु । मैले कमजोरी गरेको छु भने अभियानमा श्वेतपत्र जारी गर्छु ।  सिस्टमभित्र कमजोरी छ भने ठाउँको ठाउँ कारवाहीको सुनिश्चितता गर्छु । यहाँनिर समस्या छ भनेर तथ्यमा आउनुपर्छ । अक्षम्य कमजोरी गरेको भएपनि कानुनी दायरामा लगिन्छ । कागले कान लग्यो भने कागको पछाडि दगुर्ने भने होइन । नेफ्स्कुनको कुन ठाउँमा समस्या छ भनौं । सुधार गर्ने ठाउँमा सुधार गरिन्छ । परिवर्तन गर्ने ठाउँमा परिवर्तन गरिन्छ । दण्ड दिनुपर्ने आवश्यक भए दण्डित पनि गरिइन्छ । जघन्य अपराध भएको छ भने हामी पनि दण्डित हुन तयार छौं ।

नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय संघ हो । नेफ्स्कुनले स्थापनाको ३६औं वर्ष मनाइरहँदा अबको बाटो के हुनुपर्छ ?

छुट्टै ऐन आउन समय लाग्ला । स्वनियमन मार्गदर्शन हामी जारी गर्छौं । स्वनियमन मार्गदर्शनको आधारमा संघीय सरकारले बचत तथा ऋण सहकारीको सञ्चालन सम्बन्धी मापदण्ड सुनिश्चित गरोस् भन्ने हो । बचतऋण सहकारीको छुट्टै मापदण्ड बनाइएन र समस्यामा परेका सहकारी संस्थाको समाधानको स्वरुप दिन सकिएन भने अभियान गलत दिशामा जान्छ । गलत दिशामा जान रोक्नका लागि हामी सरकारसँग साझेदारी गर्छौं । सरकारले पनि हामीलाई विश्वास गरेर एउटा नयाँ आयाममा जान साथ दिनुपर्छ । हामी सरकारलाई सहयोग गर्छौं । यसले सदस्यको बचतको सुरक्षा हुन्छ । सहकारी अभियान सबल र परिष्कृत हुँदै एकसुत्रमा बाँधिन्छ र संविधानको मर्म अनुसार अगाडि बढ्छ ।