शुक्रबार, कार्तिक ७ गते २०८३

आगामी ३ दिन पानी पर्ने

जेठ ४, २०८० बिहीबार
आगामी ३ दिन पानी पर्ने

 

मुलुकका विभिन्न भागमा आगामी ३ दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय रहेको र स्थानीय वायुको प्रभाव सामान्य रहेकाले मौसमी प्रभावका कारण केही दिनदेखि जारी वर्षा थप लम्बिने महाशाखाले जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । 

शुक्रबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहे पनि रातिको समयमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको हुने संभावना छ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ। रातिको समयमा भने देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको हुने पूवार्नुमान गरिएको छ ।